• १३ असोज २०८१, आइतबार

विपद् पीडितलाई कांग्रेसले ५० लाख सहयोग गर्ने

blog

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक । फाइल तस्बिर

काठमाडौँ, असोज १३ गते । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विपद् पीडितका लागि तत्कालका लागि ५० लाख रुपियाँ सरकारको कोषमा हस्तान्तरण गर्ने निर्णय गरेको छ । 

 सभापति शेरबहादुर देउवाको सभापतित्वमा सभापति निवास बुढानीलकण्ठ आइतबार बसेको बैठकले सो निर्णय गरेको हो । 

बैठकपछि जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘‘सङ्कटको समयमा सबै एकढिक्का रहेर उद्धार र राहतमा समर्पित हुन सबैले तन, मन, धनले सहयोग गर्न जरुरी स्थिति दृष्टिगत गरी नेपाली कांग्रेसका सङ्घीय सांसदहरूको १५ दिनको पारिश्रमिक समेत गरी नेपाली कांग्रेसका तर्फबाट कूल रु. ५०,००,०००।– (पचास लाख) सरकारको कोषमा हस्तान्तरण गर्ने निर्णय यो बैठक गर्दछ ।’’ 

कार्यवाहक मुख्य सचिव डा. प्रदीप पराजुलीका अनुसार बैठकले समसामयिक विषयमा १५ वटा निर्णय गरेको छ । अविरल वर्षाका कारण उत्पन्न घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै कार्यसम्पादन समितिको बैठकले दिवङ्गतहरूको आत्माको शान्तिको कामना र परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ । बैठकले बेपत्ताहरूको खोजीमा हरसम्भव प्रयास तीव्र ढङ्गले गर्न सरकारको ध्यानाकर्षण गराउँदै, सबै घाइतेहरूको निःशुल्क उपचारको प्रबन्ध गर्न माग गरेको छ । 

यसैगरी, पार्टीको ‘१०० दिने विशेष अभियान’ को पूर्व निर्धारित कार्यक्रम कोजाग्रत पूर्णिमा (असोज ३०) सम्म स्थगित गर्ने निर्णय पनि गरेको छ । 

बैठकको निर्णयहरूः

१) अविरल वर्षा, बाढी र पहिरोमा परेर केही दिन यता सय भन्दा बढीको मृत्यु, कयौँ बेपत्ता र कयौँ घाइते भएको घटनाले यतिबेला समस्त नेपालीलाई मर्माहत बनाएको छ । यो समग्र घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै कार्यसम्पादन समितिको यो बैठक दिवङ्गतहरूको आत्माको शान्तिको कामना र परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ । बेपत्ताहरूको खोजीमा हरसम्भव प्रयास तीव्र ढङ्गले गर्न सरकारको ध्यानाकर्षण गराउँदै, सबै घाइतेहरूको निःशुल्क उपचारको प्रबन्ध गर्न माग गर्दछ ।

२) कयौँ नागरिक अझै पनि देशको विभिन्न भागमा उद्धारको प्रतीक्षामा रहेको खबर आएका छन् । अतः सरकारले आफ्नो सम्पूर्ण संयन्त्र त्यसमा केन्द्रित गरेर उद्धार कार्य सम्पन्न गर्न तथा स्वयंसेवी, नागरिक पङ्क्ति, नेपाली कांग्रेसका स्थानीय संरचना, अन्य सबै दल र सङ्घ–संस्थालाई उद्धार र राहतको कार्यमा ऐक्यबद्ध ढङ्गले कार्य गर्न यो बैठक अपिल गर्दछ ।

३) प्राकृतिक प्रकोपले कैयन ठुला–साना सडक अवरुद्ध भएका छन् । कयौँ पुल भत्किएका छन् र आवागमनमा असर परेको छ । अस्तव्यस्त बन्न पुगेको जनजीवनलाई यसले झनै कष्टकर बनाउन सक्ने देखिन्छ । चाडपर्वहरूमा गाउँ जान चाहने नागरिकको चाप केहि दिन पछि थपिने छ । अतः अवरुद्ध सडकहरूको मर्मत सम्भारको कार्य तीव्र गतिमा अघि बढाउन तथा पक्की पुल निर्माणमा समय लाग्ने तथ्य दृष्टिगत गरि बेलिब्रीज जडान गर्न यो बैठक सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ ।

४) प्रकोपका कारण अर्बौँको क्षति भएको छ, केही विद्युत् गृह क्षतिग्रस्त बन्न पुगेका छन् । विद्युत् उत्पादन र नियमित रहेको वितरणमा गम्भीर असर पुगेको छ । सञ्चार सेवा कयौँ ठाउँमा अवरुद्ध भएको छ । खानेपानीको वितरण प्रभावित भएको छ । यसले गर्दा तत्काल भोग्नुपरेको समस्यामा नागरिक पङ्क्तिलाई विश्वासमा लिँदै, अवस्था सामान्य बनाउन सम्बन्धित निकायलाई सघन रूपले परिचालन गर्न यो बैठक सरकारको ध्यानाकर्षण गराउँदछ ।

५) विषम परिस्थितिको समयमा बजारमा बढ्न सक्ने कालोबजारी, सवारी साधनको भाडामा हुने अनियमितता नियन्त्रण गर्न-गराउन यो बैठक सरकारको ध्यानाकर्षण गराउँदछ ।

६) नियमित रूपले झेल्नु परेको प्राकृतिक विपद्सँग जुध्न आवश्यक पूर्व तयारी र उद्धारमा अझै तीव्र र चुस्त तयारीको आवश्यकता खड्किएको छ । अतः तिनै तहको सरकारले निभाउनु पर्ने भूमिकाको एकीकृत रणनीति र चुस्त कार्ययोजना निर्माण गर्न तथा उद्धारमा आवश्यक पर्ने श्रोत–साधनको पर्याप्त जोहो गर्न कार्यसम्पादन समितिको यो बैठक सरकारलाई ध्यानाकर्षण गराउँदछ ।

७) प्राकृतिक प्रकोपले राष्ट्रिय विपत्तिको रूप लिएको यो घडीमा नागरिक पङ्क्तिलाई थप सतर्कताको अपिल गर्दै सबै राजनैतिक दल, सङ्घ–संस्थालाई यो स्थितिको सामना ऐक्यबद्ध रूपले गर्न यो बैठक आह्वान गर्दछ ।

८) क्षतिग्रस्त सबै खाले संरचनाहरूको पुनर्निर्माणका लागि PDNA (Post Disaster Needs Assessment) तयार गर्ने प्रक्रिया सुरु गर्न यो बैठक सरकारलाई आग्रह गर्दछ । 

९) राष्ट्रिय विपत्तिको यस घडीमा पार्टीको ‘१०० दिने विशेष अभियान’ को पूर्व निर्धारित कार्यक्रम कोजाग्रत पूर्णिमा (असोज ३०) सम्म स्थगित गर्ने निर्णय गर्दछ । केन्द्रीय प्रतिनिधिहरूलाई आफू खटिएको जिल्लामा उद्धार र  राहतको कार्यमा आवश्यक समन्वय गर्न-गराउन केन्द्रित गर्ने निर्णय यो बैठक गर्दछ ।

१०)  तीनै तहका जनप्रतिनिधि तथा चुनावमा पार्टीका तर्फबाट उम्मेदवार बन्नु भएका साथीहरू तथा भ्रातृ एवं शुभेच्छुक संस्थाको सबै तहको साथीहरूलाई उद्धार र राहतमा समर्पित ढङ्गले क्रियाशील हुन यो बैठक अपिल गर्दछ । 

११) कोजाग्रत पूर्णिमाका दिन नियमित रूपले आयोजना गरिँदै आएको चियापान कार्यक्रम, प्राकृतिक विपद्का कारण यो वर्षका लागि स्थगित गर्ने निर्णय यो बैठक गर्दछ ।

१२) सङ्कटको समयमा सबै एकढिक्का रहेर उद्धार र राहतमा समर्पित हुन सबैले तन, मन, धनले सहयोग गर्न जरुरी स्थिति दृष्टिगत गरी नेपाली कांग्रेसका सङ्घीय सांसदहरूको १५ दिनको पारिश्रमिक समेत गरी नेपाली कांग्रेसका तर्फबाट कूल रु. ५०,००,०००।– (पचास लाख) सरकारको कोषमा हस्तान्तरण गर्ने निर्णय यो बैठक गर्दछ ।

१३)  संवत् २०८१ साल मङ्सिर १६ गते सम्पन्न हुने स्थानीय तह सदस्य उपनिर्वाचन प्रयोजनका लागि नेपाली कांग्रेस पार्टीलाई निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय गरिन्छ ।

१४) उक्त उप–निर्वाचनमा पार्टीका तर्फबाट खडा गरिने उम्मेदवारलाई दलको औपचारिक पत्र प्रदान गर्नका लागि सभापति श्री शेरबहादुर देउवालाई जिम्मेवारी प्रदान गर्ने निर्णय यो बैठक गर्दछ । 

१५) संवत् २०८१ साल मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचन प्रयोजनका लागि नेपालको संविधानको धारा २७१ तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम निर्वाचन आयोगमा दल दर्ता गर्ने र सो सम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गर्न नेपाली कांग्रेस केन्द्रीय कार्यालयका सचिव श्री प्रकाश शर्मालाई जिम्मेवारी प्रदान गर्ने निर्णय गर्दछ ।

जय नेपाल !

डा. प्रदिप पराजुली

का.वा. मुख्य सचिव