• १३ असोज २०८१, आइतबार

राप्तीमा पानीको सतह घट्यो

blog

घट्दै राप्ती नदीमा पानीको सतह । तस्बिर : सिराज खान

सिराज खान
नेपालगन्ज, असोज १३ गते ।
गत तीन दिन परेको अविरल वर्षाका कारण राप्ती नदीमा सतर्कताको नजिकसम्म पुगेको पानीको सतह घट्दै गएकाले हालका लागि बाँकेमा बाढीको त्रास हटेको छ ।

शनिबार राप्ती नदीको पानीको सतह सतर्कताको बिन्दु नजिक ५ मिटर ९१ सेन्टिमिटर पुगेकोमा हाल आएर सो सतह घटेर ३ मिटर ६६ सेन्टिमिटरमा झरेपछि अहिलेलाई बाढीको त्रास हटेको जिल्ला आपातकालीन कार्य सञ्चालन केन्द्र बाँकेका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिनुभयो ।

नदीमा पानीको सतह बढ्दै गएपछि राप्तीसोनारी, डुडुवा र नरैनापुरका तटीय क्षेत्रका बासिन्दामा बाढी र डुबानको अत्यधिक त्रास रहेकोमा हाल नदीको सतह घटेपछि उनीहरुको डर पनि हटेको उहाँले बताउनुभयो ।

पानीको सतह सतर्कताको बिन्दु नजिक पुगेपछि बाँकेको तटीय क्षेत्रका दर्जनौं गाउँ डुबानको उच्च जोखिममा परेका थिए । दाङ, रोल्पा, प्यूठानमा लगातार पानी परेकाले नदीको सतह बढेको थियो । नदीमा पानीको सतह बढ्दै गएपछि तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको थियो ।

पानीको सतह बढ्न थालेपछि अगैयास्थित राप्ती नदीमा बाँधिएको सिक्टा सिँचाइको व्यारेजको ढोकाहरु पनि खोलिएको सूचना अधिकृत ज्ञवालीले बताउनुभयो ।

तर आइतवार नदीमा पानीको सतह ३.६६ मिटर मात्रै रहेकोले हालका लागि बाढी र डुबानका सबै खतरा समाप्त भएको जिल्ला आपातकालीन सञ्चालन केन्द्र बाँकेले जनाएको छ ।

सो जानकारी तटीय क्षेत्रका बासिन्दालाई गराएर उनीहरुलाई आआफ्नो नियमित काममा लाग्न आग्रह गरिएको केन्द्रले जनाएको छ । 

नदीमा पानी घटे पनि सतर्कता कायमै
राप्ती नदीको सतह घटेर आइतबार दिउँसो ३.६६ मिटर पुगेपछि बाढीको त्रास हटे पनि पूर्व तयारी र उच्च सतकर्ता भने कायमै राखिएको बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताउनुभयो ।

उहाँले हालका लागि पानीको सतह घटेर जोखिम टरे पनि अझै जोखिमयुक्त क्षेत्रमा सुरक्षा निकायलाई हाई अलर्टमा तयारी अवस्थामा रहन निर्देशन दिइएको बताउनुभयो ।

सोही बमोजिम स्थानीयलाई पनि अझै केही दिन सचेत रहन आग्रह गरिएको पनि प्रजिअ रिजालले बताउनुभयो ।