• १३ असोज २०८१, आइतबार

‘राजनीतिक स्थायित्वका लागि एक भयौँ’

blog

मार्तडी समाचारदाता 

मार्तडी, असोज १३ गते । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक स्थायित्वका लागि नेपाली कांग्रेस र नेकपा (एमाले) एक भएको बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल बाजुराले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, “पञ्चायत व्यवस्था ढाल्न होस् वा २०७२ सालको संविधान ल्याउन, ती सबै आन्दोलनमा कांग्रेस र एमाले सधैँ एक ठाउँमा उभिएर देशको स्थायित्व जोगाउन बल पुगेको हो ।” नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले देशको स्थायित्व जोगाउन नसकेको र राजनीतिक सहमतिमा बेइमानी गर्दा देशका दुई ठुला दल एक भएर देशलाई निकास दिन खोजेको पनि उपमहासचिव ज्ञवालीले बताउनुभयो । 

वर्तमान सरकारले संविधान जारी भएको नौ वर्षको समीक्षा गर्ने, कार्यान्वयनको अवस्था, उपलब्धि, कमीकमजोरी र यसबाट प्राप्त शिक्षा र अनुभवबाट राजनीतिक स्थायित्वलाई बल पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । उहाँले राजनीतिक स्थायित्वका निम्ति संविधान संशोधन गरिने पनि बताउनुभयो । 

देशको समृद्धि र विकासमा नेकपा (एमाले) ले निरन्तर काम गरिरहेका बताउँदै उहाँले एमालले सरकारको नेतृत्व गरेपछि देशले गति लिन खोजेको उहाँको भनाइ छ । उपमहासचिव ज्ञवालीले कमजोर आर्थिक सूचकाङ्क कमजोर रहेको अवस्थाबाट उठाएर प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले देशको आर्थिक अवस्थालाई चलायमान र गतिशील बनाएको दाबी गर्नुभयो । उहाँले सहकारीपीडितले न्याय पाउने बताउँदै छानबिन समितिले सरकारलाई बुझाएको प्रतिवेदन अनुसार सरकार अघि बढ्ने पनि स्पष्ट पार्नुभयो ।