• १३ असोज २०८१, आइतबार

श्रीलङ्काका पूर्व राष्ट्रपतिद्वारा प्राचीन तिलौराकोटको अवलोकन

blog

प्राचीन तिलौराकोटको भ्रमण गरिदैं । तस्विरः नारद कोहार

नारद कोहार

तौलिहवा (कपिलवस्तु), असोज १३ गते । श्रीलङ्काका पूर्व राष्ट्रपति गोटावाया राजापाक्षेले प्राचीन तिलौराकोटको भ्रमण गर्नु भएको छ । तिलौराकोट राजा शुद्ध धनको राजदरबार एवम् बुद्धले आफ्नो जीवनको २९ वर्ष बिताएको ठाउँ हो । लुम्बिनी हुँदै प्राचीन कपिलवस्तुमा पुग्नुभएका उहाँले बुद्ध स्थल तिलौराकोट, कुदान र निग्लिहवाको बारेमा जानकारी लिदैं भ्रमण गर्नुभएको हो ।

राजापाक्षेसँगै श्रीलङ्काका लागि नेपाली राजदूत सुदर्शन पाथिराना समेत सहभागी थिए । श्रीलंकनहरु प्राचीन कपिलवस्तुका साथै बुद्ध जन्म स्थल लुम्बिनी निकै श्रद्धाका साथ आउने भएकाले पूर्व राष्ट्रपतिले महत्वका साथ तिलौराकोट लगायतका क्षेत्रको भ्रमण गरेको लुम्बिनी विकास कोषका वरिष्ठ पुरातत्त्वविद् हिमाल उप्रेतीले बताउनुभयो ।

पूर्व राष्ट्रपतिले तिलौराकोटको मुख्य दरबार, समयमाई मन्दिर, पश्चिमी र पूर्वीद्वार क्षेत्रको स्थलगत अवलोकन गर्नुभयो । उहाँले भ्रमणको क्रममा तिलौराकोट दरबार अत्यन्तै सुन्दर ढङ्गले संरक्षण गरिनुका साथै यस स्थलमा सम्पूर्ण विश्वभरका आगन्तुकहरूले विश्व शान्ति समृद्धिका लागि पूजा र प्रार्थना गर्न यस स्थलको निरन्तर भ्रमण गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

आफू यस पवित्र स्थलमा भ्रमण गर्दा अत्यन्तै गौरवान्वित भएको र आगामी दिनमा यस स्थलको पुनः भ्रमण गर्ने विचार व्यक्त गर्नुभयो । तिलौराकोट क्षेत्रको संरक्षण र विकासका लागि राजदूत पाथिरानाले श्रीलङ्का सरकारले नेपाल सरकारसँग हातेमालो गरी कार्यहरू गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

वरिष्ठ पुरातत्वविद उप्रेतीले बुद्ध स्थलको ऐतिहासिक पृष्ठभूमि, महत्त्व, ऐतिहासिक प्रमाण लगायतका विषयमा जानकारी गराएका थिए ।  यूनेस्कोले सन् १९९६ मै ऐतिहासिक पुरातात्त्विक स्थल प्राचीन तिलौराकोटलाई सम्भावित विश्व सम्पदा सूचीमा राखेको थियो ।