• १३ असोज २०८१, आइतबार

भित्रियो असी करोड लगानी

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज १३ गते । चालु आर्थिक वर्षको पहिलो महिना (साउन) मा ८० करोड रुपियाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ । नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार साउन महिनामा ७९ करोड ९८ लाख रुपियाँमा प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको हो । गत वर्ष साउन महिनामा दुई अर्ब ६५ करोड रुपियाँ वैदेशिक लगानी भित्रिएको थियो । गत वर्षको साउन महिनाको तुलनामा चालु आवको साउन महिनामा मुलुकमा भित्रिने वैदेशिक लगानीमा उल्लेख्य गिरावट आएको हो । 

यस्तै साउन महिनामा खुद पुँजीगत ट्रान्सफर २२ करोड ३२ लाख कायम भएको राष्ट्र बैङ्कको तथ्याङ्क छ । अघिल्लो वर्ष सो अवधिमा खुद पुँजीगत ट्रान्सफर २७ करोड २६ लाख कायम भएको थियो ।

उद्योग विभागका अनुसार साउन महिनामा विभिन्न देशका लगानीकर्ताले ५९ परियोजनामार्फत आठ अर्ब ५५ करोड ५० लाख रुपियाँ बराबरको लगानी प्रतिबद्धता गरेका थिए । साउन महिनामा आठ अर्ब ५५ करोड रुपियाँ लगानी प्रतिबद्धता आएको ८० करोड रुपियाँ भित्रिएको हो । यस्तै भदौ महिनामा १९१ परियोजनामार्फत आठ अर्ब ९७ करोड ८७ लाख ९० हजार रुपियाँ वैदेशिक लगानी प्रतिबद्धता आएको हो । सबैभन्दा धेरै सूचना प्रविधिमूलक परियोजना, पर्यटन र सेवामूलकमा वैदेशिक लगानी प्रतिबद्धता आएको विभागको तथ्याङ्कले देखाएको छ । आव २०८०/८१ मा ६१ अर्ब ९० करोड रुपियाँ वैदेशिक लगानी प्रतिबद्धता आएकोमा आठ अर्ब ४० करोड रुपियाँ भित्रिएको नेपाल राष्ट्र बैङ्कले जनाएको छ । आव २०७९/८० मा ३८ अर्ब प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएकोमा छ अर्ब १७ करोड रुपियाँ भित्रिएको थियो ।