• १२ असोज २०८१, शनिबार

स्वामीकार्तिकमा ‘आमा पहिलो कार्यक्रम’

blog

मार्तडी समाचारदाता

मार्तडी, असोज १२ गते । जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकाले ‘आमा पहिलो कार्यक्रम’ लागु गरेको छ । सबैभन्दा बढी कुपोषण भएको पालिकाका रूपमा रहेको स्वामीकार्तिक खापर गाउँपालिकाले आमाको पोषण तथा स्वास्थ्यलाई ध्यानमा राखी पहिलो पटक आमा कार्यक्रम लागु गरेको हो । 

जिल्लाको विकट तथा पिछडिएको पालिकाका रूपमा रहेको स्वामीकार्तिक गाउँपालिकाले पहिलो चरणमा यहाँका १०७ आमा समूहमध्ये ३९ आमा समूहका आमासँग भेटघाट तथा छलफल गरी तथ्याङ्क लगेको गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले बताउनुभयो । सो पालिकाको मिगुदेखि फयाल गाउँसम्म प्रत्येक घर नछुट्ने गरी दुई हजार चार सय आमा आबद्व भएका छन । प्रत्येक आमाको निःशुल्क बैङ्क खाता खोली प्रतिव्यक्ति चार हजार १२४ रुपियाँका दरले जम्मा गरेको गाउँपालिका अध्यक्ष रोकायाले जानकारी दिनुभयो । 

यहाँका नागरिक तथा आमा समूहलाई सक्रिय बनाउन र कुपोषणलाई न्यूनीकरण गर्न सो कार्यक्रम लागु गरिएको अध्यक्ष रोकायाले बताउनुभयो । अध्यक्ष रोकायाले भन्नुभयो, “आमाको खातामा आफूले आम्दानी गरेको केही अंश बचत गर्ने, प्रत्येक आमाले पाँच किलो दाल समूहमार्फत जम्मा गर्ने र बेचेको दालबाट आएको रकम आमाकै खातामा जम्मा गरिने छ ।”

गाउँपालिकाले प्रत्येक आमा समूहलाई प्रत्येक वर्ष एक आयमूलक योजना छनोट गरेर लागु गर्न‘का साथै आफूले उत्पादन गरेको समूहमार्फत बिक्री गर्नुपर्ने र सो उत्पादन गरेको वस्तु गाउँपालिकाले नै खरिद गर्ने स्पष्ट पार्नुभयो ।

छाउपडी, बालविवाह, छुवाछुत जस्ता जघन्य प्रथालाई समाजबाट हटाउन आमा समूहलाई जिम्मेवारी दिने गरी कार्यक्रम लागु गरिएको अध्यक्ष रोकायाले बताउनुभयो । 

आमा कार्यक्रमलाई निरन्तरता दिनका लागि सम्बद्ध सबै निकायसँग समन्वय गरिरहेको अध्यक्ष रोकायाको भनाइ छ । आमा कार्यक्रम लागु गर्ने यो पालिका बाजुराको पहिलो हो । 

कार्यक्रम सञ्चालनका लागि गत आर्थिक वर्षमा राष्ट्रिय योजना आयोगबाट एक करोड रुपियाँ बजेट विनियोजन गरिएको थियो । यस वर्ष सो कार्यक्रम प्रभावकारी बनाउन गाउँपालिकाले पनि एक करोड रुपियाँ बजेट विनियोजन गरेको जनाएको छ ।