• १२ असोज २०८१, शनिबार

‘नेपालको पहिचान भनेकै सांस्कृतिक सम्पदा’

blog

गोरखापत्र समाचारदाता

काठमाडौं, असोज १२ गते ।   उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको पहिचान भनेकै सांस्कृतिक विविधता रहेको बताउनुभएको छ ।

ललितपुर रत्न तथा आभूषण सङ्घ र रोटरी क्लब अफ पाटन हेरिटेजको संयुक्त आयोजनामा विश्व पर्यटन दिवसका अवसरमा शुक्रबारदेखि सुरु भएको ‘पाटन हेरिटेज जेम एन्ड ज्युलरी एक्सपो’ को उद्घाटन गर्दै उहाँले सांस्कृतिक विविधता झल्काउने नेपालको परम्परागत वेशभुषा तथा पहिरनको आफ्नो छुट्टै ऐतिहासिक महत्व रहिआएको बताउनुभएको हो । 

‘समृद्धिका लागि सम्पदा संरक्षण’ भन्ने मूल नाराका साथ यो कार्यक्रम ऐतिहासिक सम्पदा पाटन दरबार क्षेत्रभित्र आयोजना हुनु आफैँमा गर्वको विषय भएको मन्त्री भण्डारीले बताउनुभयो । “ढाकाटोपीदेखि गुन्युचोलो, हाकुपटासीदेखि बक्खु जस्ता अन्य पहिरन र तिनलाई मिल्ने गरगहनाको विशेष महत्व पनि उत्तिकै छ, एकातर्फ आजको विश्वव्यापीकरणका कारण पूरै विश्व एउटै छानामुनि अवस्थित छ, अर्कोतर्फ नेपालको सन्दर्भमा हाम्रा सांस्कृतिक पहिचान धमिलिँदै गएको पनि भान भइरहेको छ”, मन्त्री भण्डारीले भन्नुभयो । 

यस कार्यक्रमले परम्परागत कालिगड तथा पहिरन बनाउने सिपको प्रवर्धन, युवा पुस्तामा सांस्कृतिक पहिचान र समृद्धबारे अवगत गराउने विश्वास लिइएको छ ।