• १२ असोज २०८१, शनिबार

दुध बेचेर एकै गाउँमा तीन करोड आम्दानी

blog

चित्र मिजार

सिन्धुपाल्चोक, असोज १२ गते । बलेफी गाउँपालिका–४ र ५ बिन्ज्यालका स्थानीयले दुध बेचेर नै गाउँमा तीन करोड भित्र्याएका छन् । गाईभैँसी पालेर उनीहरूले दुई करोड ९८ लाख ८७ हजार रुपियाँ बराबर आम्दानी गरेका छन् । 

सिन्धुपाल्चोकमै बलेफी गाउँपालिकाको बिन्ज्यालगाउँले दुध बिक्री गरेर मनग्गे आम्दानी लिनेमा बर्सौंदेखि पहिलो गाउँ बन्दै आएको छ । गत आर्थिक वर्षमा तीन लाख ७९ हजार १६१ लिटर बेचेर स्थानीयले झन्डै तीन लाख रुपियाँ गाउँ भित्र्याएका हुन् । 

बलेफी गाउँपालिका–४, बिन्ज्याल तल्लागाउँका डिल्लीराम नेपालले एक वर्षमा १२ हजार ५१७ लिटर दुध बेचेर आठ लाख १२ हजार ४५५ रुपियाँ आम्दानी गरेको जानकारी दिनुभयो । त्यस्तै उक्त टोलकै ताराप्रसाद नेपालले एक वर्षमा नौ हजार ८९६ लिटर दुध बिक्री गरेर छ लाख १६ हजार ३२० रुपियाँ कमाएको बताउनुभयो । 

साथै तोयनाथ नेपालले एक वर्षमा आठ हजार ५४० लिटर दुध बिक्री गरेर पाँच लाख ४८ हजार ४४३ रुपियाँ कमाउन सफल हुनुभयो भने रवीन्द्रबहादुर नेपालले आठ हजार १४० लिटर दुध बेचेर पाँच लाख १३ हजार सात सय रुपियाँ कमाउन सफल हुनुभएको छ ।

किसानले गाईभैँसी पालेर उत्पादन गरेका दुध बिन्ज्याल दुग्ध उत्पादक सहकारी संस्थाले सङ्कलन गरेर राजधानीलगायत अन्य ठाउँमा बिक्री गर्दै आएको छ । यस वर्ष भने डिडिसीले पाँच महिनादेखि कृषकलाई दुधको पैसा भुक्तानी नदिँदा किसान मारमा परेका छन् ।