• ११ असोज २०८१, शुक्रबार

सर्लाहीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

blog

हरिवन नगरपालिका–११, बासाटोलस्थित चिनीमिल अगाडि भएको दुर्घटना । तस्बिर : जनार्जन खत्री

जनार्जन खत्री
सर्लाही, असोज ११ गते ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको हरिवनमा शुक्रबार दिउँसो टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

हरिवन नगरपालिका–११, बासाटोलस्थित चिनीमिल अगाडि भएको दुर्घटनामा मोटरसाइकल चालक हरिवन–७, घर भएका ४२ वर्षीय दीपक अधिकारीको मृत्यु भएको हो ।

बागमती प्रदेश ०२–०३७ प ४४०१ नम्बरको मोटरसाइकलमा सवार अधिकारीलाई शुक्रबार दिउँसो ३ बजेतिर हरिवनबाट नवलपुरतर्फ आइरहेको प्रदेश २–०३–००१ क ११३७ नम्वरको टिपरले ठक्कर दिएको प्रहरीले जनाएको छ । अधिकारीको घटनास्थलमै मृत्यु भएको प्र्रत्यक्षदर्शीले बताएका छन् । उहाँ सवार मोटरसाइकल क्षतिग्रस्त छ ।

मोटरसाइकललाई ठक्कर दिने टिपर र त्यसका चालक प्रहरीको नियन्त्रणमा छन् । मृतकको शव नमूना अस्पताल हरिवनमा राखिएको छ ।

मृतकको परिवारसँग समन्वय गरी मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक किशोर तामाङले जानकारी दिनुभयो । घटनास्थलको अवस्था सामान्य रहेको र राजमार्ग सुचारु रहेको हरिवन प्रहरीले जनाएको छ ।