• ११ असोज २०८१, शुक्रबार

कोशीमा 'पर्यटन वर्ष २०८२' घोषणा

blog

विश्व पर्यटन दिवसको अवसरमा कोशी पर्यटन वर्ष २०८२ घोषणा कार्यक्रम उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री हिक्मतकुमार कार्की । तस्बिर : शशिधर पराजुली,विराटनगर ।

शशिधर पराजुली

विराटनगर, असोज ११ गते । आगामी वर्ष २०८२ लाई प्रदेश सरकारले कोशी पर्यटन वर्षको रुपमा मनाउने भएको छ । विश्व पर्यटन दिवसको अवसरमा शुक्रबार विराटनगरमा प्रदेश सरकारले एक समारोह आयोजना गरी प्रदेशको पर्यटन क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै विकास र प्रवर्द्धन गर्न कोशी पर्यटन वर्ष २०८२ घोषणा गरेको हो । 

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकाले ‘८२ का लागि ८२ गन्तव्य’ सूचि सार्वजनिक गरी ती पर्यटकीय केन्द्रहरुको योजनावद्ध विकासमा लाग्ने घोषणा गर्नुभएको हो । 

डिलाइटफुल (रमणीय) कोशी भन्ने नाराका सरकारले कोशी पर्यटन वर्ष मनाउने तयारी अगाडि बढाएको छ । कार्यक्रम घोषणासँगै अब सरकारले प्रचारप्रसारलाई तीब्रता दिने र छिमेकी मुलुकहरुबाट धेरै भन्दा धेरै पर्यटक ल्याउन प्रवर्द्धनका विभिन्न क्रियाकलापहरु सञ्चालन गर्ने जानकारी दिएको छ । 

कोशी प्रदेश सरकारले पर्यटन वर्षलाई सफल बनाउन १० करोड रुपियाँ बजेट विनियोजन गरेको छ । कोशी प्रदेशमा पर्यटनको प्रसस्त सम्भावना रहेको र सयौं आकर्षक गन्तव्यहरुले पर्यटक पर्खिरहेको भन्दै सरकारले ती पर्यटकीय गन्तव्यहरुको पूर्वाधारसँगै निजी क्षेत्रको क्षमता विकासमा सहयोग गर्ने योजना बनाएको छ । 

संघीय सरकारले घोषणा गरेको १०० पर्यटकीय गन्तव्यमध्ये कोशी प्रदेशमा ३० वटा केन्द्रहरु रहेको र त्यसबाहेक सरकारले थप ८२ नयाँ गन्तव्यहरु पहिचान गरी विकास र प्रवर्द्धनमा जुटेको कार्यक्रममा जानकारी दिइएको थियो । 

कोशी प्रदेशमा पर्वतीय पर्यटनदेखि प्राकृतिक, जैविक, धार्मिक, जल तथा नदीमा आधारित, कृषिमा आधारित, साहसी क्रियाकलापमा आधारित अनेकौं पर्यटन केन्द्रहरु विद्यमान रहेकोले ती क्षेत्रमा पर्यटकहरुलाई व्यवस्थित रुपमा राख्न र त्यहाँसम्म पुग्ने पहुँचमार्गहरुको व्यवस्थापन गर्ने आदि काममा सरकारले यस अवधिमा विशेष काम गर्ने जनाएको छ। त्यसबाहेक सरकारले भारतका विभिन्न सहरहरुमा टोली पठाएर प्रवर्द्धनात्मक क्रियाकलापहरु सञ्चालन गर्ने, कोशी प्रदेशको नजिकमा पर्ने बंगलादेशका सीमावर्ती सहरहरुमा भ्रमण वर्षको बारेमा जानकारी गराउने आदि काम गर्ने जनाएको छ । 

कोशी प्रदेशमा धार्मिक पर्यटनको राम्रो सम्भावना रहेकोले चतरा, वराह क्षेत्र, हलेसी, पाथीभरा आदि धार्मिक तथा सांस्कृतिक स्थलहरुको प्रवद्र्धन गर्ने छ। 

त्यस्तै विश्वका १० उच्च हिमालहरुमध्ये कोशी प्रदेशमा सगरमाथा, कञ्जनजंघा, मकालु, लोत्से, यालुङ्काङ जस्ता शिखरहरु रहेकोले कोशी पर्यटन वर्षमा ती हिमालहरुको थप प्रचारप्रसार गर्ने जनाएको छ । यसैगरी सरकारले पदयात्राका लागि भारतीय पर्यटकहरुलाई पदमार्गसम्म पुर्‍याउन प्रवर्द्धन गर्ने जनाएको छ । कोशी प्रदेशमा मुख्य चार पदमार्गहरुमा पर्यटन विकास गर्ने योजना सरकारको छ । भोजपुरको मुन्धुम ट्रेल, इलामको चियाबारी पदमार्ग, तेह्रथुमको लालीगुँरास पदमार्ग र पाँचथरको लब्रेकुटी पदमार्गमा पर्यटन विकास गर्ने योजना सरकारको छ । 

कोशी प्रदेशमा चियादेखि चौंरीसम्म, नेपालकै होचो भुभाग केचनाकवलदेखि विश्वको उच्च शिखर सगरमाथासम्मको विविधता, जातीय र सांस्कृतिक पहिचान र विविधता, जलवायु र मौसमजन्य विविधतालाई छिमेकी भारतका पर्यटकहरुबिच पुर्‍याउने तयारी गरेको छ । त्यसका लागि सरकारले ‘गर्मीसे बेहाल चलिए नेपाल’ भन्ने नारालाई मुख्यरुपमा भारतमा प्रचार गर्ने योजना बनाएको पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरेले जानकारी दिनुभयो । 

कोशी पर्यटन वर्ष २०८२ उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री कार्कीले कोशी प्रदेश विश्वकै उत्कृष्ट गन्तव्य भएकोले यसको प्रवद्र्धन गरी विश्वमाझ लैजाने बताउनुभयो । उहाँले भन्नुभयो, "हाम्रो पर्यटन क्षेत्रको विविधतालाई उजागर गर्दै विश्वसामु चिनाउ सक्यौँ भने कोशी प्रदेश छिट्टै नै सम्वृद्धिको यात्रामा अघि गर्न मद्दत पुग्नेछ ।"

मुख्यमन्त्री कार्कीले कोशी प्रदेश धार्मिक तथा प्राकृतिक सम्पदाकै जगमा मुलुककै पर्यटनको ‘हब’ बन्ने विश्वास व्यक्त गर्नुभयो । पोकली झरना, ह्याथ्रुंग झरना, कन्याम, श्रीअन्तु, नाम्चे, पाताले, भेडेटार, नमस्ते झरना, हिले, तीनजुरे–मिल्के–जलजले, जेफाले आदि उत्कृष्ट पर्यटकीय गन्तव्यहरुको विकासमा सरकारले निजी क्षेत्रसँग साझेदारी सहकार्य गर्ने उहाँले बताउनुभयो । 

कोशी प्रदेशमा प्याराग्लाइडिङसँगै तमोर तथा कोशी नदीमा र्‍याफिटङ आदि साहसिक खेलहरुले पर्यटकहरुलाई बढी आकर्षित गर्न सकिने भएकोले सरकारले त्यसको प्रवर्द्धनमा सहयोग गर्ने जनाएको छ । यस्तै कृषि उत्पादनमा ठुलो योगदान गरिरहेको चियालाई सरकारले अर्को आकर्षक पर्यटकीय आधारको रुपमा लिएर प्रवर्द्धन गर्ने जनाएको छ । त्यसका लागि चियाको राजधानी भनेर चिनिने इलामको सन्दकपुर, कन्याम, माइपोखरी पूर्वी नाकाबाट नेपाल प्रवेश गर्नेहरुलाई अहिले पनि भब्य स्वागत गरिरहेको मुख्यमन्त्री कार्कीले बताउनुभयो । 

यसैबिच भारतबाट आउने पर्यटकहरुलाई नेपालमा विभिन्न झन्झट हुने गरेको गुनासो सम्बोधन गर्न सरकारले सहज आवतजावतको व्यवस्था मिलाउने पनि जनाएको छ । भारतीय पर्यटक नेपाल प्रवेश गर्दा अध्यागमनमा चेकजाँच गरेपछि भारतीय सवारी साधनलाई एउटा स्टिकर दिने र उक्त स्टिकर टाँस भएको सवारी साधनलाई संवेदनशील अवस्थामा बाहेक अन्यत्र नरोक्ने व्यवस्था मिलाउन लागिएको कार्यक्रममा जानकारी दिइएको छ ।

यस्तै सरकारले सीमावर्ती सहरहरुमा क्यासिनो क्लबहरु स्थापना र सञ्चालनमा जोड दिने पनि बताएको छ । भारतीय पर्यटकहरुलाई भारतीय मुद्रा लिएर घुम्न आउन समस्या रहेकोले त्यसको समाधान गर्न नेपाल राष्ट्र बैंकसँग छलफल गरिरहेको सचिव घिमिरेले बताउनुभयो । उहाँले कोशी पर्यटन वर्षले थप २५ प्रतिशत पर्यटक यस प्रदेशमा ल्याउने विश्वास व्यक्त गर्नुभयो ।