• ११ असोज २०८१, शुक्रबार

अविरल वर्षापछि झापामा उच्च सतर्कता

blog

रतुवा खोलाको बाढी ।

बिष्णुप्रसाद पोखरेल

दमक, असोज ११ गते। झापामा लगातर दुई दिन अघिदेखि अत्यधिक वर्षा भएपछि उच्च सतर्कता अपनाइएको छ। जिल्ला प्रशासन कार्यालय झापाले सबै मातहतका निकायलाई उच्च सतर्कता अपनाएर बस्नका लागि निर्देशन गरेको हो।

जिल्लाका कन्काई, मावा, रतुवा लगायतका खोलामा बहाव बढेपछि डुबान हुनसक्ने सम्भावित क्षेत्रमा सतर्कता अपनाइएको झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिनुभयो। शुक्रबार साँझसम्म झापामा मानवीय क्षति कहिकतै नभएको जनाइएको छ।

शिवसताक्षी नगरपालिका, झापा गाउँपालिका र गौरीगञ्ज गाउँपालिका क्षेत्रमा जनजीवन प्रभावित बनेको छ। कन्काइमा बाढीको बहाव उच्च भएपछि आसपासका क्षेत्रका बासिन्दालाई सचेत हुन आग्रह गरिएको र उद्धारका लागि प्रहरी टोली हाइअलर्टमा रहेको बास्तोलाले बताउनुभयो।

बिहीबार जनप्रतिनिधि र उद्धार तथा राहत कार्यमा संलग्न हुनुपर्ने निकायको संयुक्त बैठकले प्रकोप व्यवस्थापनका लागि सबै उपाय अवलम्बन गर्ने निर्णय पनि गरेको उहाँले जानकारी दिनुभएको छ। स्थानीय निकायसँगको सहकार्य र समन्वयमा प्रकोप व्यवस्थापनका लागि आवश्यक काम गर्ने उहाँको भनाइ छ।