• २७ पुस २०८१, शनिबार

३७ घण्टापछि खुल्यो पहिरोले अवरुद्ध कान्ति लोकपथ

blog

पहिरोका कारण हेटौँडा–काठमाडौँ जोड्ने कान्ति लोकपथ अवरुद्ध बनेपछि रोकिएका सवारीसाधन ।

राममणि दाहाल

हेटौँडा, असोज ११ गते । अविरल वर्षपछि आएको पहिरोले अवरुद्ध बनेको हेटौँडा–काठमाडौँ जोड्ने तीन वटै मार्ग सुचारु भएको छ । पहिरो आएर बिहीबार बिहानैबाट अवरुद्ध बनेको कान्ति लोकपथ पहिरो पन्छाएर शुक्रबार दिउँसोबाट सुचारु गरिएको छ । 

कान्ति लोकपथ अन्तर्गत मकवानपुरको बकैया गाउँपालिका ११ स्थित घट्टेपाखा सडक खण्ड आएको पहिरो निरन्तरको प्रयासपछि पन्छाएर ३७ घण्टापछि सडक सुचारु गरिएको हो । बकैया गाउँपालिका(११ का वडाध्यक्ष गोपाल न्यासुर लामाले बिहीबारदेखिको निरन्तर प्रयासपछि पहिरो पन्छाएर शुक्रबार दिउँसो २ बजेपछि कान्ति लोकपथ सुचारु गरिएको जानकारी दिनुभयो । उहाँले ठुलो पहिरो आएको र अविरल वर्षाका कारण पहिरो पन्छाउने काममा बाधा पुग्दा सडक सुचारु गर्न ढिलाई भएको बताउनुभयो । उहाँका अनुसार पहिरो पन्छाउने कार्यमा ब्रेकर एउटा र दुई वटा स्क्याभेटर प्रयोग गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार कान्ति लोकपथ शुक्रबार दिउँसो २ः०५ बजेबाट एकतर्फी रुपमा सुचारु भएको हो । बिहीबार बिहान १ः२० बजेको समयमा घट्टेपाखास्थित कान्ति लोकपथ सडक खण्डमा वर्षाका कारण माथिबाट आएको पहिरोका कारण सडक अवरुद्ध बनेको थियो । 

यसैबिच सडक माथिबाट पहिरोले अवरुद्ध बनेको हेटौँडा–काठमाडौँ जोड्ने छोटो दुरीको हेटौँडा–कुलेखानी–सिस्नेरी–दक्षिणकाली–फर्पिङ मार्ग पहिरो पन्छाएर एक घण्टापछिपछि एकतफी सुचारु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार उक्त सडक शुक्रबार दिउँसो २ः१० बाट एकतर्फी सुचारु भएको हो ।

सिस्नेरी–दक्षिणकाली सडक खण्डमा पर्ने मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका ३ स्थित रामचन्द्रभञ्ज्याङमा पहिरो गएर शुक्रबार दिउँसो १ः१० बजेबाट उक्त मार्गमा अवातजावत अवरुद्ध भएको थियो । 

प्रहरीका अनुसार अविरल वर्षापछि आएको पहिरोका कारण सडक पूर्ण रुपमा अवरुद्ध बनेको छ र पहिरो पन्छाउन समन्वय भइरहेको छ । यसअघि भीमफेदी–कुलेखानी–फाखेल–फर्पिङ सडकको ईन्द्रसरोवर गाउँपालिका २ स्थित सुकौरामा पहिरो आई शुक्रबार बिहान ९ः३० बजेबाट उक्त सडक अवरुद्ध बनेकोमा पहिरो पन्छाएर ११ः५८ बजेबाट सडक सुचारु गरिएको प्रहरीको भनाइ छ ।