• ११ असोज २०८१, शुक्रबार

नारायणी नदीमा झोलुङ्गे पुल बनेसँगै जोखिमबाट मुक्ति

blog

नारायणी नदी वारपार गर्नका निर्माण गरिएको झोलुङ्गे पुल ।

नवलपरासी, असोज ११ गते । नारायणी नदी पार गर्नका लागि झोलुङ्गे पुल निर्माण भएसँगै नवलपरासी सुस्तावासीमा खुशीयाली छाएको छ ।

गत असोज १० गते बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले नारायणी नदीमाथि बनाइएको १५७२ मिटर लामो त्रिवेणी महेशपुर (सुस्ता) मल्टिसपान झोलुङ्गे पुल उद्घाटन गरेसँगै स्थानीयवासी हर्षित भएका हुन् ।

उनीहरुले वर्षोदेखि डुङ्गाको जोखिमपूर्ण यात्राबाट पार पाइएको र नेपाली भूमिबाटै जिल्लाको बजार र सदरमुकाम जानका लागि धेरै सहज भएको प्रतिक्रिया दिएका छन् । सो झोलुङ्गे पुलले आफूहरुलाई धेरै सुविधा दिएको स्थानीयवासीको भनाइ थियो ।

स्थानीयले भनेका छन्, ‘‘पहिला पुल थिएन । डुङ्गामा जानुपर्ने अवस्था थियो । अब अहिले पुल बन्यो । सबैलाई सुविस्था भयो, राम्रै भयो । हामी धेरै खुशी छौं ।’’

सो अवसरमा राष्ट्रपति पौडेलले सो क्षेत्रका लागि एकीकृत राष्ट्रिय विद्युत प्रणालीबाट विद्युत आपूर्ति पनि शुभारम्भ गर्नुभएको थियो । सोलार पावरमा भर पर्नुपर्ने अवस्था अन्त्य भएको भन्दै स्थानीयले आपसी खुशी साटासाट गरे ।

अब २४ घण्टा नै बिजुली बत्ति आउने आशा आफूहरुले गरेको उनीहरुको भनाइ थियो । स्थानीयले भनेका छन्, ‘‘पहिला सोलार प्लान्टमा चल्दै थियो । अब विद्युत जोडिएपछि यहाँ २४ घण्टा नै विद्युत उपलब्ध हुन्छ । अब रातदिन बत्ती बल्छ भन्ने पनि लागेको छ ।’’

सुस्तामा सो पुल बनेसँगै डुङ्गामा भाडासहित जोखिमपूर्ण यात्रा गर्नुपर्ने स्थानीयको बाध्यता अन्त्य भएको छ । पुलको अभावमा सरकारी सेवा लिन समेत भारतको भूमिहुँदै गाउँपालिकाको केन्द्र तथा सदरमुकाम पुग्नुपर्ने अवस्था थियो ।