• ११ असोज २०८१, शुक्रबार

चाडपर्व लक्षित सुरक्षा योजना : खसी बजारदेखि टिकट काउन्टरसम्म प्रहरी गस्ती

blog

चाडपर्व लक्षित सुरक्षा योजनाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलन ।

काठमाडौँ, असोज ११ गते । जिल्ला प्रहरी परिसर, काठमाडौँले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । शुक्रबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै जिल्ला प्रहरी परिसर, काठमाडौँले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको हो ।

प्रहरीले चाडपर्व लक्षित सुरक्षाको क्षेत्रहरु, स्थानीय बासिन्दा, आर्थिक कारोबार हुने स्थान, अन्य जिल्लाका लागि सवारी छुट्ने स्थान, व्यक्तिहरुको खाली रहेको घर, सरकारी कार्यालय र भीडभाड हुने बजारहरु रहेको उल्लेख गरेको छ ।

त्यस्तै, एटिएम बुथ, खसीबजार, गरगहना पसल, धार्मिक स्थल, शक्तिपीठ, पूजास्थल, बस टिकट काउन्टर, बसपार्क र बस पकेटहरुमा पनि सुरक्षा दिनुपर्ने भन्दै सो स्थानहरुमा सुरक्षाकर्मीको उपस्थिति रहने जनाइएको छ ।


पत्रकार भेटघाटमा बोल्नुहुँदै प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरेले प्रहरीले सुरक्षा दिनुपर्ने आवश्यक सबै स्थानमा सुरक्षा दिनका लागि प्रहरी तयार रहेको बताउनुभयो । उहाँले प्रहरीले व्यक्ति तथा सम्पत्तिहरुको सुरक्षा गर्ने बताउनुभयो ।

यसैगरी, धार्मिक मठमन्दिर तथा जात्राहरुको सुरक्षा गर्ने पनि उहाँले बताउनुभयो । उहाँले बढी भीडभाड हुने बैंक तथा वित्तीय संस्थाहरुमा प्रहरी गस्ती गरी सुरक्षा प्रदान गर्ने जानकारी दिनुभयो ।

यसैगरी, सहज तथा उचित मूल्यमा टिकटको व्यवस्थापनमा प्रहरी सचेत रहेको र पर्याप्त सवारी साधनको उपलब्धता तथा सहज ट्राफिक सञ्चालनमा सहयोग गर्ने उहाँको भनाइ छ ।


प्रहरीले सरकारी सम्पत्ति तोडफोड हुनसक्ने र भीडभाड बजारमा पकेटमारी हुन सक्ने भन्दै सुरक्षाका लागि प्रहरीको व्यवस्था मिलाइएको जानकारी दिइएको छ । एटिएम बुथ क्षेत्रतर्फ गस्ती निगरानी गर्ने, गरगहना पसलको सुरक्षामा, शक्तिपीठ, मन्दिर तथा पूजास्थलमा पनि गस्ती हुने उहाँले जानकारी दिनुभयो ।

प्रहरी वरिष्ठ उपरीक्षक रजौरेले शक्तिपीठहरुमा विशिष्ट व्यक्तिहरुको सुरक्षाको व्यवस्था मिलाइएको बताउनुभयो । त्यसैगरी खसी बजारमा पकेटमारी, खसी चोरी, झैझगडा, ठगी, विवाद हुनसक्ने भन्दै सो स्थानहरुमा पनि प्रहरी परिचालन गरिने उहाँले बताउनुभयो ।

टिकट काउन्टरहरुले महँगो भाडा असुल्ने, झैझगडा, चोरी, विवाद हुनसक्ने भन्दै त्यहाँ यात्रु सहायता कक्षको व्यवस्था गरी सुरक्षा व्यवस्थापन गरिने उहाँले उल्लेख गर्नुभयो ।