• ११ असोज २०८१, शुक्रबार

'लुम्बिनीको पर्यटनबाट देशलाई समृद्ध बनाउन सकिन्छ'

blog

कपिल ज्ञवाली

सिद्धार्थनगर, असोज ११ गते । विश्व पर्यटन दिवसको अवसर पारेर आज बुद्ध जन्मस्थल लुम्बिनीमा पर्यटकलाई स्वागत गरिएको छ । लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपाने, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले पर्यटकलाई खादा र नेपाली ढाका टोपी लगाइदिएर स्वागत गर्नुभएको हो ।

जापानी नागरिक यूकु शान, भारतीय विद्या बाग्दी र सुनिल बाग्दीलाई स्वागत गरिएको छ । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश सरकारका पर्यटनमन्त्री प्रचण्डविक्रम न्यौपानेले लुम्बिनी देशकै गौरव भएकाले यसको विकास र प्रवर्धनका लागि प्रदेश सरकार साथमा रहने प्रतिबद्धता जनाउनुभयो। उहाँले लुम्बिनी विकास कोषसँग मिलेर अगाडि बढ्ने गरी योजना बनाउने समेत बताउनुभयो ।

यस्तै, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा(खेन्पो छिमे) ले ३६५ दिन नै पर्यटकहरुलाई स्वागत सत्कार गर्ने वातावरण बनाउनुपर्ने बताउनुभयो । उहाँले विदेशीसँगै स्वदेशी पर्यटकहरुलाई समेत लुम्बिनी स्वागत गर्दै यसको प्रवर्धनमा सबै एकजुट भएर लाग्न आग्रह गर्नुभयो । उहाँले बुद्धजन्मस्थल लुम्बिनी नेपालसँगै विश्वका बौद्ध सम्प्रदायको समेत आस्थाको केन्द्र भएकाले आफू आएपछि लुम्बिनीलाई अन्तर्राष्ट्रियकरण गरेको बताउनुभयो।

पर्यटन दिवस कार्यक्रममा लुम्बिनी होटल सङ्घ नेपालका वरिष्ठ उपाध्यक्ष लीलामणि शर्माले लुम्बिनीको पर्यटनबाट देशलाई नै समृद्ध बनाउन सकिने बताउनुभयो । उहाले पर्यटन दिवससँगै लुम्बिनीमा पर्यटनहरुको आवागमन वृद्धि गर्ने कार्ययोजना ल्याउन पर्यटनमन्त्रीसँग आग्रह गर्नुभयो ।

'पर्यटन र शान्ति' भन्ने नारा सहित मनाइएको पर्यटन दिवसमा लुम्बिनीमा भने यात्रा, अध्यात्म र चिन्तन मार्फत शान्तिको प्रवर्धन गरौं नारा तय गरी मनाइएको लुम्बिनी विकास कोषका सूचना तथा जनसम्पर्क प्रमुख डा. हरिध्वज राईले बताउनुभयो । निरन्तर वर्षात भएकाले शान्तिदीपस्थित थाई भिजिटर सेन्टरमा स्वागत गरिएको हो ।

कार्यक्रममा लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई, सदस्य सचिव सानुराजा शाक्य, वरिष्ठ निर्देशक ज्ञानिन राई, सूचना अधिकारी राजन बस्नेतलगायतको उपस्थिति थियो । लुम्बिनीमा स्वागत गरिएका पर्यटकहरुलाई लुम्बिनी होटल सङ्घ नेपालले तिलौराकोट, रामग्रामलगायतका क्षेत्रमा एक दिन भ्रमण र बासको व्यवस्था गरेको अध्यक्ष गोविन्द ज्ञवालीले बताउनुभयो ।

लुम्बिनी विकास कोषको आयोजनामा भएको कार्यक्रममा लुम्बिनी सांस्कृतिक नगरपालिका, लुम्बिनी होटल एशोसिएसन, लुम्बिनी पर्यटन व्यावसायी सङ्घ, महामाया रिक्सा चालक सङ्घ, लुम्बिनी स्थानीय पथ प्रदर्शक सङ्घ, लुम्बिनी अन्तरराष्ट्रिय विहारहरुको सहभागिता थियो । 

यो वर्ष सिजन सुरु भएकाले पर्यटक सङ्ख्या बढ्ने अनुमान गरिएको छ । प्रत्येक वर्ष सेप्टेम्बर २७ तारिखका दिन विश्व पर्यटन दिवस मनाउने गरिन्छ । लुम्बिनीमा सन् २०२४ को अगस्ट महिनासम्म आन्तरिक र बाह्य गरी ६ लाख १२ हजार ४७७ जना पर्यटकले भ्रमण गरेका छन् । अघिल्लो वर्ष करिब १० लाख पर्यटकले लुम्बिनी भ्रमण गरेका थिए ।