• ११ असोज २०८१, शुक्रबार

स्वास्थ्य कार्यालय स्याङ्जा गण्डकी प्रदेशमा पहिलो

blog

तस्बिर : स्वास्थ्य कार्यालय स्याङ्जा ।

अर्जुन काफ्ले 

स्याङ्जा, असोज ११ गते । आर्थिक वर्ष २०८०-०८१ को प्रदेश स्तरीय वार्षिक समीक्षामा स्वास्थ्य सूचकहरुको आधारमा स्वास्थ्य कार्यालय स्याङ्जा गण्डकी प्रदेशमा उत्कृष्ट भएको छ । 

गण्डकी प्रदेश अन्तर्गतका ११ वटै स्वास्थ्य कार्यालयलाई गरिएको मूल्याङ्कनमा स्वास्थ्य कार्यालय स्याङ्जा प्रथम भएको हो । खोप सेवा, परिवार नियोजन सेवा, मातृशिशु सेवा, क्षयरोग उपचार, बिरामी उपचार, मलेरिया उपचार, स्थानीय तहमा भएका स्वास्थ्य कार्यक्रमको प्रगति, वार्षिक बजेट र कार्यान्वयनको अवस्था लगायतका ३१ स्वास्थ्य तथा वित्तीय सूचकहरूका आधारमा स्वास्थ्य कार्यालय स्याङ्जा गण्डकी प्रदेशमै प्रथम भएको हो । 

कार्यालय प्रमुख केशव चापागाईंले स्वास्थ्यको क्षेत्रमा सञ्चालित विभिन्न कार्यक्रमको मूल्याङ्कनका आधारमा स्याङ्जा ८३.२ प्रतिशत अङ्क प्राप्त गर्दै प्रदेशकै सर्वोत्कृष्ट बनेको बताउनुभयो । स्वास्थ्य कार्यालयले नियमित रूपमा गर्नुपर्ने कार्यहरू प्रभावकारी ढङ्गले गरिएको सबै कार्यक्रम र प्रगतिको समयमै रिपोर्टिङ गरिएकाले गत आर्थिक वर्षमा १० औं स्थानमा रहेको स्याङ्जा यसपटक प्रथम हुन सफल भएको हो । 

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश पोखराले गरेको मूल्याङ्कनमा स्वास्थ्य कार्यालय, बाग्लुङ बाग्लुङ्ले ८१.५ प्रतिशत अङ्क प्राप्त प्राप्त गर्दै द्वितीय र ७५ प्रतिशत अङ्क प्राप्त गरेर स्वास्थ्य कार्यालय कास्की तृतीय भएको छ । 

यसैगरी स्याङ्जा अस्पताल स्याङ्जा गण्डकी प्रदेशमा प्रथम भएको छ भने पर्वत अस्पताल, पर्वत द्वितीय र लमजुङ अस्पताल तृतीय भएको हो । स्थानीय तहतर्फ स्याङ्जाको पुतलीबजार नगरपालिका तृतीय भएको हो भने प्रथम बुलिङटार गाउँपालिका, नवलपूर र बाग्लुङ द्वितीय भएको हो ।