• ११ असोज २०८१, शुक्रबार

अवरुद्ध बिपी राजमार्ग एकतर्फी सञ्चालन

blog

वर्षासँगै आएको लेदोको कारण अवरुद्ध भएको बिपी राजमार्गको चारसयबेंसी सडक खण्ड खुलाउँदै प्रहरी । तस्विर सौजन्यः जिप्रका काभ्रेपलाञ्चोक

केदार तिमल्सिना

बनेपा, असोज ११ गते । अविरल वर्षासँगै सडकमाथिबाट झरेको लेदोको कारण अवरुद्ध भएको बिपी राजमार्ग एकतर्फी रुपमा सुचारु भएको छ । शुक्रबार बिहान करिब ९ः१५ को समयमा वर्षासँगै आएको लेदोको कारण बिपी राजमार्ग अन्तर्गत रोसी गाउँपालिका –८ चारसय बेंसीमा सडक अवरुद्ध भएको थियो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले अविरल वर्षासँगै आएको लेदोका कारण अवरुद्ध भएको सडक विभाग र स्थानीय सरकार र प्रहरीको सहायतामा एकतर्फी रुपमा सुचारु गरिएको बताउनुभयो । 

उहाँले एकतर्फ बाटो सुचारु हुँदा राजमार्गमा सवारी आवागमनमा समस्या भएका कारण दुवैतर्फको बाटो सञ्चालनका लागि सडक विभाग र स्थानीय सरकारसँग समन्वय भइरहेको बताउनुभयो । वर्षा सुरु भएसँगै बिपी राजमार्गको चार सयबेंसी, माम्ती, कालढुङ्गालगायतका स्थानमा आउने खहरे खोलाका कारण पटक–पटक घण्टौँसम्म राजमार्ग अवरुद्ध हुने गरेको छ ।