• ११ असोज २०८१, शुक्रबार

मानव बेचबिखनका लागि जमुनाह जोखिमपूर्ण

blog

नेपालगन्जस्थित जमुनाह नाका ।

नेपालगन्ज समाचारदाता

नेपालगन्ज, असोज ११ गते । पश्चिम नेपालका विभिन्न पहाडी र तराईका जिल्लाको प्रमुख नाकाका रूपमा रहेको नेपालगन्जस्थित जमुनाह नाका मानव बेचबिखनका लागि अति नै जोखिमपूर्ण मानिएको छ । 

यो नाकाबाट जोखिमपूर्ण रूपमा भारत छिराउन वा छिर्न लागेका सयौँ महिला तथा युवतीलाई हरेक वर्ष उद्धार गरेर घर फर्काउने गरिएको छ । मानव बेचबिखन बढ्न थालेसँगै पछिल्लो समयमा मानव बेचबिखनविरुद्धका मुद्दा पनि प्रहरीमा दर्ता हुने क्रम बढेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार गत तीन आर्थिक वर्षमा मानव बेचबिखनविरुद्धका ४७ वटा मुद्दा जिल्ला प्रहरी कार्यालय बाँकेमा दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले आव २०७८/७९ मा मानव बेचबिखनविरुद्धका १७ वटा मुद्दा दर्ता भएकोमा आव २०७९/८० मा १३ र आव २०८०/८१ मा पनि १३ वटा दर्ता भएको बताउनुभयो । उहाँले चालु आव २०८१/८२ को हालसम्म चार वटा मुद्दा दर्ता भइसकेको र अनुसन्धान भइरहेको बताउनुभयो । बाँकेमा दर्ता भएका मुद्दामध्ये १० वटाबाहेक सबै मुद्दामा प्रहरीले अनुसन्धान गरी अदालतमा पेस गरिसकेको पनि प्रमुख कार्कीले बताउनुभयो । 

उहाँले मानव बेचबिखनका मुद्दा दर्ता गर्दा आधारभूत सबुत प्रमाणलाई आधार बनाउने गरिएको जनाउँदै बेचबिखनविरुद्ध सचेतनाका लागि प्रहरीले विभिन्न सङ्घ संस्थासँग सहकार्य गरी निरन्तर काम गरिरहेको पनि बताउनुभयो । यसैबिच माइती नेपाल नेपालगन्ज कार्यालयले गत आव २०८०/८१ मा बाँकेको जमुनाह नाकाबाट मानव बेचबिखनको जोखिमपूर्ण यात्रामा रहेका ५२६ जना महिला तथा बालबालिकालाई उद्धार गरेर सुरक्षित रूपले घर फर्काएको जनाएको छ । माइती नेपालका अनुसार ती सबैलाई परिवारसँग पुनर्मिलन गराइएको छ । यसै गरी भारतका विभिन्न ठाउँबाट नौ जना महिला तथा बालबालिकालाई उद्धार गरिएको माइती नेपाल नेपालगन्जले जनाएको छ ।

माइती नेपाल नेपालगन्जका प्रमुख केशव कोइरालाका अनुसार पछिल्लो समय पढेलेखेका, आर्थिक रूपले सम्पन्न, महिला, पुरुष सबै तप्काका मानिस मानव बेचबिखनमा परिरहेका छन् । जमुनाह नाकाबाट कामका लागि तेस्रो मुलुक जाने नाममा भारतको बाटो प्रयोग गर्दा पनि मानिसहरू मानव बेचबिखनमा परेको उहाँले बताउनुभयो । अर्कातर्फ पैसाका लागि जस्तोसुकै काम गर्ने महत्वाकाङ्क्षा र सामाजिक सञ्जालको दुरुपयोगकर्ताको निसानामा पर्दा पनि महिला बेचबिखनमा पर्ने गरेको पाइएको छ ।

प्रमुख कोइरालाले माइती नेपालले भारतमा बेचबिखनमा परेकाहरूलाई अपरेसन चलाएर उद्धार गरी ल्याउने गरेको जनाउँदै पछिल्लो समय माइती नेपालमा खाडी मुलुकबाट समेत आफू बेचबिखनमा परेको र उद्धार गरिदिन भन्दै निवेदन आइरहेको बताउनुभयो ।