• ११ असोज २०८१, शुक्रबार

हट्यो पानी बोक्ने बाध्यता

blog

अमरराज नहर्की 

तनहुँ, असोज ११ गते । तनहुँको बन्दीपुर गाउँपालिका–६ मा दूषित पानी खानुपर्ने तथा पानी लिन घण्टौँ धाउनुपर्ने बाध्यता अन्त्य भएको छ । शुद्ध र सफा खानेपानी घर घरमा पाउँदा गाउँका बासिन्दा खुसी भएका छन् । गाउँपाखो खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न भएसँगै गाउँमा दूषित पानीको समस्या समाधान भएको हो । 

आयोजनाले उक्त वडाका खहरे, फिर्कीडाँडा, थुमथुमे, झापर्दी गाउँका ६२ घरमा धारा जडान गरेको छ । एक घर एक धारा जडान गरिएपछि बर्सौंदेखि काकाकुलको जीवन गुजारेका स्थानीयलाई सहज भएको छ । खहरेकी फूलिमाया गुरुङले मादीसेती नदी तथा खहरे खोलाको धमिलो पानी वर्षायाममा खानुपर्ने बाध्यता हटेको बताउनुभयो । गुरुङले भन्नुभयो, “पानी परेको बेला खोला तथा नदीको धमिलो भएका बेला नजिक खानेपानी नहुँदा त्यही धमिलो पानी खानुपर्ने बाध्यता थियो, अहिले घरमै सफा धारा आउँदा निकै खुसी लागेको छ ।” सोही ठाउँकी दिलमाया गुरुङ गाउँमा मूलको पानी नहुँदा दूषित पानी खानुपर्ने मात्रै नभई एक जनाको काम नै पानी बोक्नुपर्ने बाध्यता हटेको बताउनुभयो । साथै उहाँले विगतमा गाउँमा दूषित पानीकै कारण झाडापखाला फैलिने गरेकोमा सफा पानी पाउँदा सबै जना खुसी भएको बताउनुभयो । 

आयोजनाका संयोजक सिद्धान्त थापामगरले खानेपानीको धेरै दुःख भएकाले बसाइँसराइ गरी गाउँ रित्तिने क्रम बढ्न थालेपछि योजना पार्न धेरै दौडधुप गर्नु परेको बताउनुभयो । दुई महिनामै योजना सम्पन्न गरी चौबिसै घण्टा धारामा पानी आउने गरी एक घर एक धारा वितरण गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार पाँच किलोमिटर टाढा रहेको देवघाट गाउँपालिका–३ को पौवा खोलाको पानी ल्याएर दुई महिनामै योजना सम्पन्न गरिएको हो । 

आयोजनाको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले हरेक नेपालीलाई शुद्ध खानेपानीको पहुँच पु¥याउने नेपाल सरकारको लक्ष्य भए अनुरूप यहाँ खानेपानीको सुविधा पु¥याउन सक्दा खुसी लागेको बताउनुभयो । साथै अध्यक्ष थापाले गाउँपालिकाले यहाँको खानेपानीको समस्या समाधानका लागि पहिलो प्राथमिकतामा राखेर सिफारिस गरेकाले गण्डकी प्रदेश सरकारले बजेट विनियोजन गरेकोसमेत जानकारी दिनुभयो ।