• ११ असोज २०८१, शुक्रबार

नयाँघरेको ‘आगोको बीउ’

blog

काठमाडौँ, असोज ११ गते । लेखक युवराज नयाँघरेको निबन्धसङ्ग्रह ‘आगोको बीउ’ बिहीबार राजधानीमा सार्वजनिक गरिएको छ । अख्यानकार कृष्ण धराबासी, त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक कुमारी लामा, पद्मकन्या क्याम्पसका उपप्राध्यापक ज्ञानु अधिकारी, सर्जक नयाँघरेलगायतले कृति सार्वजनिक गर्नुभएको हो ।

उपप्राध्यापक कुमारी लामाले ‘आगोको बीउ’ मा आफूलाई भूमिका लेख्ने अवसर दिएर लेखक नयाँघरेले कृतज्ञ बनाएको अनुभव सुनाउँदै समग्रमा यो कृति जीवन र मृत्युबारे अकाट्य सत्यलाई बोध गराउन सफल भएको चर्चा गर्नुभयो । उपप्राध्यापक ज्ञानु अधिकारीले ‘आगोको बीउ’ मा मानव, समाज, प्रकृतिसँगको यथार्थ अनुभूतिलाई लेखकले मिहिन ढङ्गले पस्कन सफल भएको बताउनुभयो ।

साहित्यकार अनिता कोइरालाले कृतिबारे पाठकीय प्रतिक्रिया दिँदै यस कृतिमा सङ्गृहीत हरेक निबन्धमा आफूले आगोको बीउको सुगन्ध पाएको बताउनुभयो । उहाँले ठेट नेपाली शब्द र छोटा छोटा वाक्यसहित सरल नेपाली भाषामा लेखिएको निबन्धमा बोधगम्य र अर्थपूर्ण ओजनदार सन्देश एवं सिकाइ पढ्दा पाठकलाई पुस्तक पढेर सिध्याइहाल्ने हुटहुटी जाग्ने बताउनुभयो  । भारती न्यौपानेले समीक्षात्मक टिप्पणी दिँदै लेखक नयाँघरेले सङ्ग्रहभित्रका निबन्धमा पानीका थोपा, असिनाका डल्लोमा समेत आगो ओकल्न सफल भएको बताउनुभयो । ‘आगोको बीउ’ मदन पुरस्कार विजेता लेखक युवराज नयाँघरेको १९ औँ कृति हो ।