• ११ असोज २०८१, शुक्रबार

स्याउबाट एक करोड आम्दानी

blog

बाजुरा समाचारदाता

बाजुरा, असोज ११ गते । जिल्लाको पूर्वीउत्तर क्षेत्रमा पर्ने स्वामीकार्तिक खापर गाउँपालिकाका किसानले यो वर्ष स्याउ बिक्री गरेर एक करोडभन्दा बढी रुपियाँ आम्दानी गरेका छन् । स्वामीकार्तिक खापर गाउँपालिकामा रहेका दुई हजार चार सय घरपरिवारमध्ये एक हजार आठ सय घरपरिवारले यो वर्ष स्याउ बिक्री गरेर गाउँमै एक करोडभन्दा बढी आम्दानी गरेका हुन् ।

गत वर्षभन्दा यो वर्ष स्याउ समयमै बिक्री भएपछि घरमै राम्रो कमाइ भएको स्वामीकार्तिक खापर गाउँपालिकाका किसान उत्तम शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, “अघिल्लो वर्ष स्याउ आफैँले बजारमा लिएर बिक्री गर्नु परेको थियो । यो वर्ष भने व्यापारी बारीमै आएर सबै स्याउ उठाएपछि घरमै राम्रो कमाइ भएको हो ।” यो वर्ष बारीमा उत्पादन भएको झन्डै ८० प्रतिशत स्याउ बिक्री भइसक्यो । अब २० प्रतिशत स्याउ बाँकी छ, त्यो स्याउ सेलार स्टोरमा जम्मा गरेका छौँ, यो स्याउ पनि केही दिनपछि सबै बिक्री हुनेमा उहाँ विश्वस्त हुनुहुन्छ । 

गाउँमा स्याउ हुने गरेको भए पनि त्यसले समयमै बजार नपाउँदा स्थानीयले गाईगोरुलाई खुवाउने गर्दथे । पछिल्लो समय यहाँ उत्पादन गरेको स्याउ गाउँपालिकाले देशका विभिन्न ठाउँमा बजारीकरणका लागि पहल गर्दै आएपछि यहाँका किसानले उत्पादन गरेको अर्गानिक स्याउ समयमै बजारमा बिक्री हुन थालेको हो । 

केही दिनपहिला कोल्टी–मार्तडी सडक सञ्चालन होला भनेर बारीमै राखिएको अर्गानिक स्याउ सडक सञ्चालन नभएपछि ठेकेदारले कर्णाली कोरिडोरको बाटो हुँदै जिल्लाभन्दा बाहिरका विभिन्न बजारमा लिएका हुन् ।गत वर्ष बाजुरामा उत्पादन गरिएको स्याउ अछाम, डोटी, डडेलधुरा, कैलाली हुँदै काठमाडौँमा लगिएको थियो । यस वर्ष मार्तडी–कोल्टी सडक लामो समयदेखि अवरुद्ध भएकाले कर्णाली कोरिडोरबाट कैलाली, नेपालगन्ज र काठमाडौँ लगिएको छ । यहाँ स्थानीय डेलिसिएस, रोयल, रेड डेलिसियस, गोल्डेन, गाला, फुजीलगायतका स्याउ उत्पादन हुने गरेको छ ।

स्वामीकार्तिकमा उत्पादन भएको झन्डै ८० प्रतिशत स्याउ बिक्री भएको छ । स्याउ बिक्रीबाट यहाँका किसानले झन्डै ८० लाख रुपियाँ आम्दानी गरेको र अझै २५ लाखभन्दा बढीको स्याउ सेलार स्टोरमा जम्मा गरेको कृषि शाखा प्रमुख विनोद शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, “२५ टन स्याउ बारीबाट टिपेर सेलार स्टोरमा राखिएको छ । केही दिनपछि यो स्याउ पनि बिक्रीका लागि देशका विभिन्न सहरमा लाने योजना रहेको छ ।”

गत वर्ष स्याउबाट घाटा बेहोर्दै आएका यहाँका किसानले अहिले एक करोडभन्दा बढी रुपियाँ घरको दैलामै बुझेको कृषि शाखा प्रमुख विनोद शाहीले बताउनुभयो । कृषिविज्ञलाई यहाँ बोलाएर माटो परीक्षण गर्दा स्याउ खेतीका लागि यहाँको माटो निकै उपयुक्त छ भनेपछि अहिले यहाँका किसानलाई थप स्याउ खेतीमा लाग्न उत्प्रेरित गर्दै आएको स्वामीकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरत रोकायाले बताउनुभयो ।