• ११ असोज २०८१, शुक्रबार

स्थानीय तहलाई अनुदान निकासा

blog

मकवानपुर समाचारदाता

हेटौँडा, असोज ११ गते  । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१/८२ मा प्रदेशमा रहेका स्थानीय तहलाई प्रदान गर्ने अनुदान निकासा गरेको छ । प्रदेशको आन्तरिक मामिला तथा योजना मन्त्रालयले प्रदेशमा रहेका स्थानीय तहलाई वित्तीय समानीकरण अनुदान, विशेष अनुदान, समपूरक अनुदान र ससर्त अनुदानबापतको पहिलो किस्ताको रकम निकासा गरेको हो ।

११९ स्थानीय तह रहेको यस प्रदेशका स्थानीय तहलाई विभिन्न शीर्षकका अनुदान गरी दुई अर्ब सात करोड ५४ लाख ७८ हजार रुपियाँ निकासा भएको छ ।

हरेक आवको भदौ १५ गतेभित्र पहिलो किस्ता प्रदेश लेखा एकाइ कार्यालयले स्थानीय तह सञ्चित कोषमा दाखिला गर्नुपर्ने भए पनि ढिला गरी अनुदान निकासा गर्ने निर्णय गरी निकासा गरिएको छ । 

निकासा गरिएको अनुदानमा समपूरक अनुदान र विशेष अनुदानको पहिलो किस्ताबापतका अनुदान प्रदेशका सबै पालिकामा निकासा भएको छैन । 

मन्त्रालयका सूचना अधिकारी सुरज पौडेलले समपूरक अनुदान र विशेष अनुदान वितरणसम्बन्धी कार्यविधिले तोकेका मापदण्ड पूरा नगरेको, कुनै पालिकाले अनुदानका लागि माग नै नगरेको, कार्यपालिका बैठक पनि नबसेको, कार्यपालिकाको बैठकबाट निर्णय नभएलगायतका कारण अनुदान निकासा नभएको जानकारी दिनुभयो । उहाँका अनुसार अनुदान माग गरेर आए पनि कतिपय पालिकाको आवश्यक कागजात नपुगेका कारण पनि अनुदान निकासा हुन नसकेको हो ।

११९ स्थानीय तहलाई पहिलो किस्ताबापत वित्तीय समानीकरण अनुदान २५ प्रतिशतले एक अर्ब ६६ करोड २५ लाखको ४१ करोड ५६ लाख २६ हजार रुपियाँ निकासा गरिएको छ ।

विशेष अनुदान ११९ तहमध्ये १०६ स्थानीय तहका लागि स्वीकृत योजना कार्यान्वयनका लागि पहिलो किस्ताबापत निकासा भएको छ । प्रदेश सरकारले बेहोर्ने ७२ करोड १८ लाखको २५ प्रतिशत १८ करोड चार लाख ५० हजार रुपियाँ १०६ वटा पालिकामा विशेष अनुदान निकासा गरिएको हो ।

विशेष अनुदान नपाउनेमा स्थानीय तहमा जिरी नगरपालिका, कालिञ्चोक गाउँपालिका, बिगु गाउँपालिका, नमोबुद्ध नगरपालिका, मण्डनदेउपुर नगरपालिका, रोसी गाउँपालिका, पाँचपोखरी थाङपाल गाउँपालिका, सुनकोशी गाउँपालिका, कालिका गाउँपालिका, आमाछोदिङ्मो गाउँपालिका, राप्ती नगरपालिका, काठमाडौँ महानगरपालिका र ललितपुर नगरपालिका रहेका छन् ।

यस्तै समपूरक अनुदान ११९ पालिकामध्ये ११३ पालिका स्वीकृत योजना कार्यान्वयनका लागि पहिलो किस्ताबापत प्रदेश सरकारले बेहोर्ने दुई अर्ब ४८ करोड आठ लाख ५० हजारको ६२ करोड दुई लाख १२ हजार पाँच सय रुपियाँ निकासा भएको छ ।

समपूरक अनुदान नपाउने पालिकामा कालिञ्चोक गाउँपालिका, लिखु तामाकोशी गाउँपालिका, बाह्रबिसे नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, राप्ती नगरपालिका र काठमाडौँ महानगरपालिका रहेका छन् ।

यसै गरी ससर्त अनुदान ११९ तहका लागि चालु आवका लागि तीन अर्ब ४३ करोड ६७ लाख ५८ हजारको २५ प्रतिशतले पहिलो किस्तामा ८५ करोड ९१ लाख ८९ हजार पाँच सय रुपियाँ निकासा भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार स्थानीय तहलाई गत आवमा हस्तान्तरण भएका ससर्त, समपूरक र विशेष अनुदान गत असार मसान्तसम्ममा खर्च नभई बचत भएको रकम प्रदेश सञ्चित कोषमा दाखिला गर्न र नगरेमा चालु आवको समानीकरण अनुदानबाट कट्टा गरिने भएको छ ।