• ११ असोज २०८१, शुक्रबार

युवालाई निःशुल्क सिप विकास तालिम

blog

सामाजिक विकास कार्यालय काभ्रेपलाञ्चोकले सञ्चालन गरेको नियमित तीनमहिने प्लम्बिङ तालिमका सहभागी । तस्बिर : केदार तिमल्सिना

बनेपा समाचारदाता

बनेपा, असोज ११ गते । बागमती प्रदेश सरकारले काभ्रेपलाञ्चोकसहित आसपासका चार जिल्लाका करिब तीन सय युवालाई निःशुल्क सिप विकास तालिम प्रदान गर्ने भएको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षमा सामाजिक विकास कार्यालय काभ्रेपलाञ्चोकमार्फत काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा र रामेछाप गरी चार जिल्लाका २८० युवालाई सिप विकास तालिम प्रदान गर्ने भएको हो । 

सामाजिक विकास कार्यालय काभ्रेपलाञ्चोककी प्रमुख रनमाया फ्याकले युवालाई सिप प्रदान गरी स्वरोजगार बनाउने उद्देश्यले विभिन्न किसिमका सिप विकास तालिम सञ्चालन गरिने बताउनुभयो । उहाँले तालिममा चार जिल्लाका १६ देखि ४० वर्ष उमेर समूहका युवाले तालिम लिई स्वरोजगार बन्न सक्ने बताउँदै कार्यालयले नियमित तीनमहिने प्लम्बिङ तालिम, नियमित तीनमहिने विद्युत् जडान तालिम, नियमित तीनमहिने केश शृङ्गार तथा सौन्दर्य तालिम र नियमित तीनमहिने सिलाइकटाइ तालिम सुरु गरिसकेको बताउनुभयो । उहाँले प्लम्बिङ तालिममा २५ जना, विद्युत् जडानमा २५ जना, केश शृङ्गार तथा सौन्दर्यमा ३० जना र सिलाइकटाइ तालिममा २० जना सहभागी रहेको भन्दै यस आवमा २५ जनाका लागि नियमित छमहिने कम्प्युटर सफ्टवेयरसम्बन्धी तालिम, २० जनाका लागि बेतबाँस हस्तकला तालिम र २५ जनाका लागि तीनमहिने इलेक्ट्रोनिक्स मर्मत तालिम सञ्चालन गरिने बताउनुभयो । 

यस्तै ६० जना महिला श्रमिक, लैङ्गिक हिंसापीडित, विपन्न, दलित, सीमान्तकृत, एकल महिलाका लागि उद्यमशीलता रोजगारमूलक तीनमहिने सिप विकास तथा क्षमता अभिवृद्धि तालिम, २५ जना यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक, २५ जना अति सीमान्तकृत र लोपोन्मुख समुदायका महिलाका लागि  सिपमूलक तालिम सञ्चालन गरिने कार्यालयले जनाएको छ । कार्यालयले तीनमहिने केश शृङ्गार तथा सौन्दर्य तालिम र तीनमहिने सिलाइकटाइ तालिम लिएका २५÷२५ प्रशिक्षार्थीका लागि नियमित तीनमहिने लेबल टु (एडभान्स तह) को तालिमसमेत सञ्चालन गरिने जनाएको छ । त्यसै गरी कार्यालयले सिपसम्बन्धी तालिम प्राप्त गरेका प्रदेशका युवालाई उद्यमशीलतासम्बन्धी छोटो अवधिको तालिम सञ्चालन गर्ने छ । कार्यालय प्रमुख फ्याकले कार्यालयले चारै जिल्लामा प्रदेश सामाजिक विकास मन्त्रालय र युवा तथा खेलकुद विकास मन्त्रालय अन्तर्गतका सिपमूलक तालिम र गरिबी निवारणमा काम गर्ने बताउनुभयो ।