• ११ असोज २०८१, शुक्रबार

गर्मीले जनजीवन प्रभावित

blog

काठमाडौँ, असोज ८ गते । केही दिनयता वर्षा नहुँदा काठमाडौँ उपत्यकासहित तराई–मधेशका जिल्लाको जनजीवन प्रभावित भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार असोजको मात्रै तथ्याङ्क हेर्दा सोमबार देशमा अधिकांश क्षेत्रमा अधिक गर्मी महसुस भएको छ । 

जल तथा मौसम विज्ञान विभाग सूचना अधिकारी विभूति पोखरेलले सोमबार असोजकै रेकर्ड तोडिएको बताउनुभयो । उहाँले भन्नुभयो, “विशेष गरी मनसुन अवधिभर तामक्रम बढ्छ । पानी नपरेपछि गर्मी हुन्छ नै । यस पटक रेकर्ड तोडिने गरी तापमान बढ्नुमा जलवायु परिवर्तनसँग पनि जोडेर हेरिएको छ । यो जलवायु परिवर्तनको असर नै हो ।” 

सोमबार बिहान ८:४५ बजे २२० वटा वर्षा मापन केन्द्रमा मापन गरिएको २४ घण्टाको वर्षाको विवरण अनुसार १८ वटा केन्द्रमा मात्रै वर्षा भएको छ । सबैभन्दा बढी जुम्लामा २.४ मिलिमिटर वर्ष भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँको अधिकतम ३३.२ र न्यूनतम तापक्रम २०.४ रहेको छ । सबैभन्दा बढी तापक्रम धरानमा ३७.४, विराटनगरमा ३७.२, धनगढीमा ३७.१ रहेको जनाएको छ । 

महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर रहेकाले देशभर मनसुनी वायुको प्रभाव रह्यो । महाशाखाले पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली भएको छ । धेरै क्षेत्रमा मौसम सफा रहेको छ । महाशाखाले कोशी प्रदेश, बागमती प्रदेश र कर्णाली प्रदेशका एक/दुई स्थान हल्का वर्षा भएको जनाएको छ । 

महाशाखाका अनुसार मङ्गलबार दिउँसो देशभर आंशिक र साधारण बदली रहने र कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा, अन्य प्रदेशमा थोरै स्थानमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । मङ्गलबार राति कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।