• ११ असोज २०८१, शुक्रबार

संविधान संशोधन सरकारको मात्रै विषय होइनः सभामुख घिमिरे

blog

सभामुख देवराज घिमिरे ।

काठमाडौँ, असोज ६ गते।  सभामुख देवराज घिमिरेले संविधान संशोधन सरकारको मात्रै विषय नभएको बताउनुभएको छ। 

आइतबार सिंहदरबारमा संविधान सभा सदस्य परिषद् नेपालको केन्द्रीय तदर्थ समितिले दशौं संविधान दिवसको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो।  

उहाँले संविधान संशोधनको विषय सरकारको विषय नभएको बताउनुभयो।  उहाँले अहिले संविधान संशोधनको पक्षमा र विपक्षमा नाराबाजी सुरु भएको भन्दै यो दुःखद् रहेको बताउनुभयो।  

उहाँले संविधान संशोधन गर्नेकुरा असमझदारीबाट सुरु हुँदा आवश्यक हुँदाहुँदै पनि अनुपयुक्त हुने जिकिर गर्नुभयो।  उहाँले व्यवहारमा गरेका अनुभव र जनताको समस्यालाई सम्बोधन गर्नेगरी संविधान संशोधन हुनुपर्ने बताउनुभयो।  

संविधान संशोधन कसैको जित र हारको विषय नभएको बताउनुभयो।  संविधान संशोधन सत्तामा चढ्ने र ओर्लिने विषयका रुपमा लिन नहुने बताउनुभयो।  उहाँले संविधान कार्यान्वयनमा जोड दिन आवश्यक रहेको बताउनुभयो।  

सभामुख घिमिरेले न्युनतम सहमति र सहकार्यको वातावरण बनाइ उपयुक्त ढंगबाट संविधान संशोधन गर्नुपर्नेमा जोड दिनुभयो।