• ११ असोज २०८१, शुक्रबार

मधेसमा ८७४ जना नयाँ कुष्ठरोगी

blog

कार्यक्रममा सहभागी अतिथिहरु । तस्विरः धर्बेन्द्र झा

धर्बेन्द्र झा 

जनकपुरधाम, असोज ६ गते । मधेश प्रदेशका जिल्लामा ८ सय ७४ जना नयाँ कुष्ठ रोगी फेला परेका छन् । स्वास्थ्य निर्देशनालय मधेश प्रदेशले जनकपुरधाममा आयोजना गरेको एक कार्यक्रममा सो जानकारी दिइएको हो ।

ससाकावा फाउण्डेशन र नेपाल कुष्ठ रोग संस्थाको सहयोगमा स्वास्थ्य निर्देशनालय मधेश प्रदेशले आइतबार मधेश प्रदेशको राजधानी जनकपुरधाममा आयोजना गरेको कुष्ठ रोग प्रभावकारी नियन्त्रणसम्बन्धि कार्यक्रममा निर्देशनालयको कुष्ठ रोगशाखाका प्रमुख राजविर यादवले सोबारे जानकारी गराउनुभयो । 

कुष्ठ रोगको क्षेत्रमा औषधीसहितका विश्वमा कुष्ठरोगीको पुनस्र्थापनासहितको क्षेत्रमा समुदायामा सहयोग गर्दैआएको जापानको सासाकावा फाउण्डेशनको प्रतिनिधिको सहभागितामा भएको कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै यादवले प्रदेशको सप्तरी बाहेक ७ जिल्लामा नयाँ र पुरानो गरेर १ हजार १० जना कुष्ठरोगीहरु स्वास्थ्यकर्मीको निगरानीमा औषधी लिइरहेको जानकारी दिनुभयो ।  

नेपालमा २ हजार ५ सय २२ जना कुष्ठरोगी रहेकोमा त्यसको ३७ प्रतिशत रोगी मधेश प्रदेशमा रहेका छन् । सामाजिक मान्यता तथा रुढीबादीका कारणले धेरैले कुष्ठ रोग लुकाएर बसेका कारणले यो संख्या अझ बढी समुदायमा हुने अनुमान मधेश प्रदेशका स्वास्थ्य निर्देशनालयका निर्देशक डा. राजिवकुमार झाले बताउनुभयो ।  खोजतलासको काम घर–घरमा गर्न जरुरी रहेको उहाँको भनाइ छ ।  

प्रति १० हजार जनसंख्यामा एक जनाभन्दा कम कुष्ठरोगी भएपछि मात्र कुष्ठरोग उन्मूलन भएको मान्ने विश्व स्वास्थ्य संगठनको गाइडलाइन रहेको छ । नेपालका ३४ जिल्ला पूर्ण रुपमा कुष्ठरोग उन्मूलन भएको जिल्ला भए पनि अन्य जिल्लामा अझ पनि रोगी रहेको अनुमान गरिएको छ ।

कुष्ठरोग नियन्त्रणका लागि खोप हालसम्म नबने पनि यसको औषधी रोगीले खाइसकेपछि सार्ने सम्भावना नभएकाले रोगको शंका लागेको खण्डमा तत्काल जाँच गरेर उपचारमा आउनका लागि आम नागरिकलाई मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. सञ्जयकुमार ठाकुरले कार्यक्रममा आग्रह गर्नुभयो ।

कुष्ठरोग पूर्वजन्मको पाप, देवी देवताको श्राप नभई एक प्रकारको किटाणुका कारणले सर्ने भएकाले औषधी खाएपछि निको हुने प्रमाणित हुँदै आएकाले उपचारमा आउन मन्त्रालयका सचिव डा. ठाकुरले आग्रह गर्नुभयो ।

कार्यक्रममा मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री शत्रुधनप्रसाद सिंहले कुष्ठरोगको उपचार गरेको खण्डमा निको हुने भएकाले कुष्ठ रोगको शंका लागेमा  स्वास्थ्य संस्थामा उपचारका लागि जान आग्रह गर्नुभयो । 

उहाँले कुष्ठरोगप्रतिको नकारात्मक भावना चिर्नका लागि गाउँ–गाउँमा जनचेतनामूलक प्रचार–प्रसार गर्न जरुरी रहेको बताउनुभयो । कुष्ठरोगको निःशुल्क औषधी तथा समुदायमा कुष्ठरोगीको पुनस्र्थापनाको क्षेत्रमा सहयोग गर्दैआएका सासाकावा फाउडेशनका सदस्य डा. मोही सासाकावाले बताउनुभयो ।