• ११ पुस २०८१, बिहिबार

गोरखापत्रका कार्यकारी अध्यक्ष सुवेदीलाई राष्ट्रपतिबाट अग्रज पत्रकार सम्मान

blog

राष्ट्रपति रामचन्द्र पौडैल गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णु सुवेदीलाई ‘अग्रज पत्रकार सम्मान’ प्रदान गर्नुहुँदै । तस्बिर : सुजन गुरुङ

 काठमाडौं, असोज ६ गते । गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णु सुवेदीलाई ‘अग्रज पत्रकार सम्मान’ प्रदान गरिएको छ। प्रेस काउन्सिल नेपालको ५५ औँ वार्षिकोत्सवका अवसरमा राष्ट्रपति कार्यालय शीतलनिवासमा आइतबार आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडैलले सुवेदीलाई सो सम्मान प्रदान गर्नुभएको हो। 

नेपाली पत्रकारिताको व्यावसायिक अभ्यासमा साढे दुई दशकभन्दा बढी योगदान पुराएको साथै गोरखापत्रलाई डिजिटल युग सुहाउँदो सुधार तथा परिवर्तन गर्दै गोरखापत्र संस्थानलाई आत्मनिर्भर तथा थप व्यावसायिक बनाउन महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै सरकारी सञ्चार माध्यमका पदाधिकारीमध्येबाट कार्यकारी अध्यक्ष सुवेदीलाई यो सम्मान प्रदान गरिएको हो। 

सुवेदीसँगै अन्य अग्रज तथा वरिष्ठ संचारकर्मीलाई यो सम्मान प्रदान गरिएको छ। 

पत्रकारिता तथा आमसञ्चार विषयमा त्रिभुवन विश्वविद्यालयबाट एमफिल उत्तीर्ण सुवेदी यसअघि भ्रष्टाचारविरुद्ध खोजमूलक पत्रकारिताका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालबाट पुरस्कृत हुनुभएको थियो । साथै उत्कृष्ट युवा पत्रकारिता पुरस्कारलगायत अन्य सम्मान पनि उहाँले हासिल गर्नुभएको छ। 

 राष्ट्रियस्तरका सञ्चार संस्थामा नेतृत्वदायी भूमिकासहित पत्रकारिताको व्यावसायिक अभ्यासमा क्रियाशील सुवेदी तीन वर्षदेखि गोरखापत्र संस्थानको कार्यकारी अध्यक्ष हुनुहुन्छ। 

गोरखपत्र संस्थानलाई डिजिटल युग सुहाउँदो परिवर्तन र सुधार गरेर प्रतिस्पर्धात्मक बजारमा सुवेदीले नयाँ कार्ययोजनासहित गोरखापत्रको ‘स्मार्ट यात्रा’ सुरु गर्नुभएको थियो।

सुवेदीले नेतृत्व समालेपछि संस्थानमा आन्तरिक सुधारसँगै प्रकाशन तथा सम्पादकीय उत्पादनको प्रस्तुति एवं गुणस्तरमा अभिवृद्धि  एव पहुँच विस्तार गरेर संस्थाको आम्दानीमा उल्लेखनीय वृद्धि भएको छ।

संस्थानसँग उपलब्ध स्रोत साधन तथा जनशक्तिको प्रभावकारी परिचालन गरेर संस्थालाई आर्थिकरुपमा आत्मर्निभर र दिगो बनाउन सुवेदी नेतृत्वको समूहले अघि बढाएको व्यापार प्रवर्द्वन तथा आम्दानी वृद्धिको नयाँ रणनीति र कार्ययोजनाको परिणामस्वरुप गोरखापत्र संस्थान अहिले नाफामा छ।

यो पनि पढ्नुहोस