• ११ असोज २०८१, शुक्रबार

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबिच भेटवार्ता

blog

न्युयोर्क, असोज ६ गते । नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा भाग लिने क्रममा संयुक्त राज्य अमेरिकाको न्युयोर्क आइपुग्नुभएका प्रधानमन्त्री केपी शर्मा ओली शनिबारदेखि महत्वपूर्ण भेटघाट र कार्यक्रममा सहभागी हुनुभएको छ ।  

शनिबारै दिउँसो स्थानीय समय अनुसार ३:१५ बजे संयुक्त राष्ट्रसङ्घ भवनमा महासचिव एन्टेनियो गुटेरेससँग प्रधानमन्त्री ओलीको भेटवार्ता भएको छ । यस्तै स्थानीय समय अनुसार दिउँसो १ बजे ग्यास हाउस अन पार्कमा आयोजित  संसदीय मञ्चको कार्यक्रमलाई सम्बोधन गर्नुभएको छ ।  शनिबार दिउँसो संयुक्त राष्ट्रसङ्घका उपमहासचिव रहब फातिमाले प्रधानमन्त्री ओलीलाई भेट्नुहुने छ । 

प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको ग्यास हाउस अन पार्कमा शनिबार आयोजित संसदीय मञ्चको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै । तस्बिर : प्रम सचिवालय 

यसैबिच शनिबार साँझ नै राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले प्रधानमन्त्री ओली र भ्रमण दलमा सहभागी सदस्यका लागि स्वागत समारोहको आयोजना गरेको छ । क्यानडामा रहनुभएका परराष्ट्रमन्त्री डा. आरजु राणा शनिबारै न्युयोर्क आई भ्रमण दलमा सामेल हुने कार्यक्रम रहेको राष्ट्रसङ्घका लागि स्थायी नियोगका प्रतिनिधि लोकबहादुर थापाले जानकारी दिनुभयो ।  

प्रधानमन्त्री ओलीलाई परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, नियोगका प्रतिनिधि थापा, शिष्टाचार महापाल विष्णुप्रसाद गौतम लगायतले राष्ट्रसङ्घका विभिन्न सत्र र नेपालको भूमिकाबारे अवगत गराउनुभएको थियो ।  

प्रधानमन्त्री ओली कतारको दोहा हुँदै स्थानीय समय अनुसार शुक्रबार राति ९:४५ बजे न्युयोर्क आइपुग्नुभएको थियो । यहाँ बस्नुभएको होटल ग्रान्ड ह्यायातमा अमेरिकास्थित विभिन्न राज्यका अवैतनिक महावाणिज्य दूतहरू, नेपाली समुदायका प्रतिनिधि लगायतले भेट गर्नुभएको थियो ।