• ११ असोज २०८१, शुक्रबार

नातिनीसँगै स्कुल पढ्दै हजुरआमा

blog

नातिनीसँगै विद्यालय गइरहनुभएका हजुरआमाहरु ।

राजकुमार भट्टराई 

खोटाङ, असोज ५ गते । पढाइलाई उमेरले छेक्दैन भन्ने भनाइलाई खोटाङका धनकुमारी राई र पुजान दर्जीले व्यवहारमा देखाउनुभएको छ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाकी ७८ वर्षीया धनकुमारी राई र ५२ वर्षीय पुजान दर्जी अहिले नातिनीहरूसँगै विद्यालयमा पढ्न सुरु गर्नुभएको छ । 

धनकुमारी र पुजान आफ्ना नातिनीहरू पढिरहेको सरस्वती माध्यमिक विद्यालय पाथेकामा कक्षा १ मा भर्ना हुनुभएको छ । असोज २ गते विद्यालयमा भर्ना हुनुभएका उहाँहरू अहिले नियमित विद्यालय गएर पढिरहनुभएको सरस्वती माविका प्रधानाध्यापक उत्रप्रसाद राईले बताउनुभयो ।    

धनकुमारीको नातिनी परिसा राई र पुजानकी नातिनी स्नेहा दर्जी बालविकास केन्द्रमा पढ्छन । हजुरआमाहरू आ–आफ्नो नातिनीलाई डोर्‍याउँदै विद्यालय पुग्ने गर्नुभएको थियो । छुट्टी भएपछि उसैगरी नातिनी डोर्‍याउँदै घर फर्किनु हुन्थ्यो । दिनभर विद्यालयमा बसेर छुट्टी भएपछि नातिनी लिएर विद्यालय आउने जाने गरेको दुई महिना बितिसकेको थियो । 

दिनभर स्कुलमा बसेर समय बिताइरहेका हजुर माहरूलाई विद्यालयका शिक्षिकाहरूले भर्ना भएर पढ्न सुझाव दिए । त्यही सुझावमा राजी हुँदै धनकुमारी र पुजान कक्षा १ मा भर्ना हुनुभएको हो ।  

अहिले दुवै हजुरआमा कापी कलम च्यापेर नातिनीसँगै स्कुल जान सुरु गर्नुभएको छ । भर्ना भएकै मितिबाट धनकुमारी र पुजानलाई दिवा खाजा दिन सुरु गरिएको प्रधानाध्यापक राईले बताउनुभयो । 

धनकुमारी र पुजान नागरिकता बोकेर भर्ना हुन विद्यालय पुग्नुभएको थियो । नागरिकतामा धनकुमारीको जन्ममिति २००३ कात्तिक १७ गते र पुजानको २०२९ कात्तिक २० गते उल्लेख छ । उमेर ढल्किए पनि धनकुमारी सहजै हिँडडुल गर्न सक्नुहुन्छ । कान राम्ररी सुन्नुहुन्छ । हालसम्म चस्मा लगाउनुभएको छैन ।

बाल्यकालमा पढ्न नपाएको रहर अहिले पूरा गर्न लागेको पुजान बताउनुहुन्छ । “नपढेका कारण केही ठाउँमा धोका पाइयो, केही ठाउँमा गाली खाइयो” पुजानाले भन्नुभयो, “त्यही भएर पढ्ने रहर छ । केही जानियो, केही बुझियो भने कसैले घोच्न–पेल्न सक्दैन भन्ने धारणा छ ।” 

यस्तै, अक्षर र अङ्क जान्ने मनसहित स्कुल जान थालेको धनकुमारी बताउनुहुन्छ । प्रधानाध्यापक राईका अनुसार हजुर माहरू नै स्कुल जान थालेपछि अरूका लागि प्रेरणा मिलेको छ । २०१७ सालमा स्थापना गरिएको सरस्वती माविमा हाल तीन सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । सो माविमा गत भदौ ६ गतेदेखि कक्षा ११ को पठनपाठन सुरु गरिएको छ ।