• ११ असोज २०८१, शुक्रबार

फाल्गुनन्द गोल्डकपको ११ औँ संस्करण पुसमा

blog

११ औँ संस्करणको फाल्गुनन्द गोल्डकपको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा आयोजक फिदिम स्पोर्टिङ क्लबका पदाधिकारी। तस्बिर : राधा लुइटेल

राधा लुइटेल 

फिदिम, असोज ५ गते। फाल्गुनन्द गोल्डकपको ११ औँ संस्करण पुसमा हुने निश्चित भएको छ। मैदान भत्किएपछि २०७५ सालदेखि स्थगित गरिएको उक्त गोल्डकप फिदिम स्पोर्टिङ क्लबले आयोजना गर्न लागेको हो। 

पुस ६ गतेदेखि १५ गतेसम्म सञ्चालन गर्ने आयोजक क्लबले शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी गराएको हो। 

फिदिम स्पोर्टिङ क्लबले २०४४ सालमा तत्कालीन राजा वीरेन्द्रको जन्मोत्सवका अवसरमा शुभजन्मोत्सव कपका नामले खेलाउन थालेको गोल्डकपलाई २०६५ देखि फाल्गुनन्द गोल्डकप नामकरण गरेर सञ्चालन गर्न थालेको हो। 

नेपालका १६ औँ राष्ट्रिय विभूति तथा किराँत धर्मका प्रवर्तक फाल्गुनन्द लिङदेनको स्मृतिमा खेलाइँदै आएको उक्त गोल्डकप २०७५ सालमा १० औँ संस्करण सकिए लगत्तै फिदिम माविको खेल मैदान भत्कियो।  साथै विश्वव्यापी रूपमा फैलिएको कोरोना सङ्क्रमणका कारण स्थगित गरिएको थियो।

पछिल्लो समय खेल मैदान मर्मत गरेसँगै खेललाई निरन्तरता दिन लागिएको आयोजक फिदिम स्पोर्टिङ क्लबका अध्यक्ष दीपेन्द्र थापा मगरले जानकारी दिनुभयो। 

११ औँ संस्करणको विजेताले नगद ५ लाख ५५ हजार र उपविजेताले दुई लाख २५ हजार सँगै ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने बताइएको छ। 

यस्तै प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल प्राप्त गर्नेछन्।  प्रत्येक खेलमा म्यान अफ दि म्याच हुने खेलाडीले नगद १० हजार प्राप्त गर्नेछन्। प्रतियोगिता फिदिम माध्यमिक विद्यालयको खेलमैदान सञ्चालन हुनेछ।  ११ औँ संस्करणको प्रतियोगितामा ए डिभिजनका ४ क्लब, बी डिभिजनका बागमती यूथ क्लब र आरसी ३२ र मोफसलका झापा, मोरङ, सुनसरी लगायतका १० क्लब सहभागी गराउने तयारी रहेको अध्यक्ष मगरले जानकारी दिनुभयो।