• ११ असोज २०८१, शुक्रबार

रेडपान्डा ट्रेल म्याराथनमा महिलातर्फ कुमारी गुरुङ प्रथम

blog

अन्तर्राष्ट्रिय रेडपान्डा ट्रेल म्याराथन प्रतियोगितामा महिलातर्फ प्रथम हुन सफल कुमारी गुरुङ। तस्बिरः चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, असोज ५ गते। विश्व रेडपान्डा दिवसको अवसरमा शनिबार ताप्लेजुङमा आयोजित अन्तर्राष्ट्रिय रेडपान्डा ट्रेल म्याराथन (दौड) प्रतियोगितामा महिलातर्फ कुमारी गुरुङ प्रथम हुनुभएको छ। निर्धारित ४८ किलोमिटर दूरी ६ घण्टा १२ मिनेटमा पुरा गर्दै ताप्लेजुङ फुङ्लिङकी गुरुङ प्रथम हुनुभएको हो। 

म्याराथनमा महिलातर्फ नै निर्धारित ४८ किलोमिटर दूरी ६ घण्टा २९ मिनेटमा पार गर्दै ओखलढुङ्गाकी लाक्पा निमा शेर्पा द्वितीय हुनुभएको छ।  यस्तै ताप्लेजुङकी दासाङ्गी शेर्पा तृतीय हुनुभएको छ।  तृतीय बन्न सफल शेर्पाले ६ घण्टा ३७ मिनेटमा निर्धारित दूरी पुरा गर्नुभएको छ। 

महिलातर्फ म्याराथनमा प्रथम हुनेले ५० हजार रुपियाँ, दोस्रोले ३० हजार र तेस्रो हुनेले २० हजार रुपियाँ नगद पुरस्कार पाउनुभएको छ।  म्याराथनमा म्याराथन प्रतियोगितामा दक्षिण कोरियाकी एक महिला धावकसहित १६ जना सहभागी बन्नुभएको थियो।  

यसैगरी स्थानीय विधातर्फ रेडपान्डा कोरिडोर क्षेत्रको रूपमा रहेको ताप्लेजुङ, पाँचथर र इलाम जिल्लाका धावकबिच प्रतिस्पर्धा गराइएको छ।  उक्त विधातर्फ पाँचथरका राजन मेन्याङ्बो निर्धारित दूरी चार घण्टा ५७ मिनेटमा पूरा गर्दै प्रथम हुनुभएको छ।  त्यस्तै सञ्चबहादुर शेर्पाले पाँच घण्टा छ मिनेट र दीपक राईले पाँच घण्टा १९ मिनेटमा दूरी पार गर्दै क्रमशः दोस्रो र तेस्रो हुनुभएको छ। 

म्याराथनको स्थानीय विधातर्फ प्रथमलाई १५ हजार रुपियाँ, दोस्रोलाई १० हजार र तेस्रो हुनेलाई पाँच हजार रुपियाँ नगद पुरस्कार प्रदान गरिएको आयोजक हिमाली संरक्षण मञ्च ताप्लेजुङले जनाएको छ।  म्याराथनका लागि सदरमुकाम फुङ्लिङदेखि तीन हजार ७९४ मिटर उचाइमा अवस्थित पाथीभरा धाम पुगेर पुनः फुङ्लिङ आइपुग्नुपर्ने गरी दूरी निर्धारण गरिएको थियो।  

प्रत्येक सेप्टेम्बर २१ तारेखलाई अन्तर्राष्ट्रिय रेडपान्डा दिवसका रूपमा मनाइने गरिएको छ।  दिवसको अवसर पारेर विश्वमै दुर्लभ रेडपान्डाको संरक्षणप्रति जनचेतना अभिवृद्धि तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले रेडपान्डा म्याराथन प्रतियोगिता आयोजना गरिएको मञ्चका कार्यक्रम संयोजक रमेश राईले जानकारी दिनुभयो।