• ११ असोज २०८१, शुक्रबार

लोकल रक्सी र सुकुटी ब्रान्डिङ गर्न घान्द्रुकवासीलाई सुझाव

blog

पर्यटकीय क्षेत्र घान्द्रुक ।

सन्तोष सुवेदी

कास्की, असोज ५ गते।  घान्द्रुक आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको छ।  घान्द्रुकलाई सांस्कृतिक गाउँको रूपमा विकासको लागि पहल गर्न सरोकारवालाको माग छ। कास्कीको अन्नपूर्ण गाउँपालिका–१०/११ स्थित घान्द्रुक पर्यटन व्यवस्थापन समितिको दोस्रो वार्षिक साधारण सभामा बोल्ने वक्ताले घान्द्रुक पदमार्गको हब बन्ने  बताए।  

अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) पोखराका प्रमुख डा. रविन कडरियाले घान्द्रुकबाट अन्नपूर्ण पदमार्ग, मुल्डे, हिडन लेक, म्याग्दीको घोडेपानी, खोर्पा, पुनहिल पदमार्गमा पर्यटकको रोजाइमा पर्ने गरेको बताउनुभयो। 

कडरियाले घान्द्रुकमा पर्यटकको सङ्ख्या र बसाई लम्बाउन नयाँ नयाँ पर्यटकीय गन्तव्यसँगै वन्यजन्तु संरक्षणमा विशेष ध्यान दिनसमेत सुझाव दिनुभयो।  उहाँले घान्द्रुक लगायत अन्नपूर्ण क्षेत्रमा पाइने अल्लो र स्थानीय  उत्पादनलाई ब्रान्डिङ गर्न आवश्यक रहेको बताउनुभयो।  

कडरियाले घान्द्रुकको लोकल रक्सी, सुकुटी र स्थानीय उत्पादनलाई ब्रान्डिङ गर्नसके आर्थिक रूपमा समेत सबल हुने बताउनुभयो। अन्नपूर्ण गाउँपालिका–१० का वडाध्यक्ष गौतम गुरुङले घान्द्रुकको विकासका लागि स्थानीय सरकार, एक्याप र स्थानीयको समन्वयमा काम गर्दै आएको बताउनुभयो।

कार्यक्रममा अन्नपूर्ण संरक्षण क्षेत्र एक्याप इलाका कार्यालय घान्द्रुकका पूर्व प्रमुख जगनसुब्बा गुरुङले घान्द्रुकको विकास र यहाँको संरक्षणका लागि संरक्षण क्षेत्र स्थापना भए सँगै स्थानीयसँग समन्वय गर्दै आएको उल्लेख गर्नुभयो।