• १३ साउन २०८१, आइतबार

जग्गाको विषयमा झडप हुँदा पाँचजना घाइते

blog

जलेश्वर, वैशाख २९ गते । महोत्तरीको औरहीमा बिहीबार बिहान दुई पक्षबीच झडप भएको छ । झडपमा दुवै पक्षका गरी पाँच जना घाइते भएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक रञ्जन मिश्र जानकारी दिनुभयो । उहाँका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ भने तीनजना समान्य घाइते भएका छन् ।

औहरी नगरपालिका वडा नम्बर २ बस्ने चन्देश्वर साह र रामजीवन यादव पक्षबीच जग्गा मिचेको विषयमा झडप भएको र सो झडपमा चन्देश्वर साहकी पत्नी ६५ वर्षीया राजकुमारी देवी साह र ३५ वर्षीय रामसिकिल साह गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

५५ वर्षीय राम जीवन यादव, ५० वर्षीय रामचन्द्र यादव र २१ वर्षीय विजयकुमार यादव सामान्य घाइते भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये राजकुमारी साह र रामसिकिल साहलाई प्राथमिक उपचारपछि थप उपचारको लागि धरान रिफर गरिएको छ । अन्यको औरही नगरपालिका–१ स्थित राधा कृष्ण क्लिनीकमा उपचार भइरहेको प्रहरीले जनाएको छ । साह र यादवको जग्गा एकै ठाउँमा रहेको सोहि जग्गामा पर्खाल लगाउँदा जग्गा मिचिएको विषयमा दुवै पक्ष बीच दुई दिनदेखि झगडा हुँदै आएको थियो ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Author

महेशकुमार दास