• ११ असोज २०८१, शुक्रबार

संविधानले नेपाली समाजलाई राष्ट्रिय एकताको सूत्रमा बाँधेको : प्रदेश प्रमुख भट्ट

blog

संविधान दिवस–२०८१ मूल समारोह कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट । तस्बिर : गोरखापत्र

रमेश पौडेल

पोखरा, असोज ३ गते । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले वर्तमान संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई वृहत् राष्ट्रिय एकताको सूत्रमा बाँधेको बताउनुभएको छ ।

संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ को अवसरमा गण्डकी प्रदेश सरकारद्वारा पोखरामा बिहीबार आयोजित कार्यक्रममा बोल्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पना साकार बनाउन समाजवाद उन्मुख अर्थतन्त्रको निर्माण गर्ने लक्ष्य लिएको प्रदेशका प्रमुख भट्टले उल्लेख गर्नुभयो । 

उहाँले मुलुकमा उपलब्ध प्राकृतिक स्रोत तथा ऊर्जाशील युवाशक्तिसहित मानवीय संसाधनको दिगो सदुपयोग गर्नु आजको आवश्यकता रहेको बताउनुभयो । त्यसैगरी गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संविधानले निर्दिष्ट गरेको कार्यसूची बमोजिम गण्डकी प्रदेश सरकारले देशवासी प्रतिको जिम्मेवारी र दायित्वलाई बोध गरी आफ्नो स्रोत, साधन र क्षमताले भ्याएसम्म नागरिक मैत्री सरकारको रूपमा उपस्थित भएको बताउनुभयो । 

उहाँले नेपालको संविधानको सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्त बमोजिम सङ्घीयता कार्यान्वयन गर्न गण्डकी सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । नेपालको संविधानबाट प्राप्त उपलब्धिको जर्गेना गर्दै प्राप्त हुन बाँकी केही हक अधिकारका लागि तत्पर रहेको बताउनुहुँदै उहाँले सङ्घबाट अधिकार प्राप्त गर्नका निम्ति प्रदेशले सङ्घर्ष गरिरहेको बताउनुभयो । प्रदेश मातहतमा रही प्रादेशिक ऐनहरू निर्माण गर्नका लागि सबै राजनीतिक दलहरू एकजुट हुनुपर्नेमा मुख्यमन्त्री पाण्डेको जोड थियो ।

यसैगरी गण्डकी प्रदेशसभाका सभामुख कृष्ण धितालले सङ्घीय सरकारका कारण प्रदेश सरकारले बनाउनुपर्ने ऐन निर्माण गर्न नसक्दा सरकारलाई काम गर्न कठिनाइ भएकाले दलहरू जिम्मेवार बन्न आग्रह गर्नुभयो ।

नेकपा एमालेका नेता एवं गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले कहिले काहीँ आफ्नै छायाले तर्साउने भएकाले वर्तमान संविधानप्रति नतर्सन आग्रह गर्नुभयो । जनताले बनाएको पहिलो संविधान भएकाले पनि यसको मूल मर्मलाई आत्मसाथ गरेर जानुपर्ने उहाँको भनाइ थियो । उहाँले संविधान जारी गर्दाको देशीविदेशी शक्तिको दबाबका बिच स्व.नेता सुशील कोइराला र सुवास नेम्वाङले पु¥याउनुभएको योगदानको स्मरण गर्नुभयो ।

त्यसैगरी प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका नेता हरिबहादुर चुमानले सङ्घको अस्थिरताले गर्दा प्रदेश सरकारले काम गर्न नसकेको बताउँदै संविधानलाई कसैले पनि परिवर्तन गर्न नसक्ने विषयमा जोड दिनुभयो ।

मुख्यमन्त्री कार्यालयका प्रमुख सचिव रघुराम विष्टले स्वागत गर्नुभएको सो कार्यक्रम कार्यालयका सचिव केशवराज ढकालले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठानका कलाकारहरूले विभिन्न जनजातिका नृत्य प्रस्तुत गरेका थिए । 

साथै सहिद पार्कबाट सुरु भएको ब्यान्ड बाजासहितको झाँकी र र्‍याली मूल समारोहसम्म पुगेको थियो । कार्यक्रममा विभिन्न राजनीति पार्टीका नेता, प्रदेश तथा कास्की जिल्लाका उच्चपदस्थ कर्मचारीहरू, सुरक्षा निकाय, नागरिक समाज एवं विभिन्न संघसंस्थाहरुको सहभागिता रहेको थियो ।