• ११ असोज २०८१, शुक्रबार

राजनीतिक स्थायित्वलाई बलियो बनाउन संविधान संशोधनः उपमहासचिव ज्ञवाली

blog

नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवाली

काठमाडौँ, असोज ३ गते । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक स्थायित्वलाई बलियो बनाउन संविधान संशोधन आवश्यक रहेको बताउनुभएको छ । बिहीबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

उपमहासचिव ज्ञवालीले संविधानको कार्यान्वयन गर्दै नौ वर्ष बिताइसकेको भन्दै संविधानमा भएका कमीलाई पूरा गर्ने समय आएको बताउनुभयो । उहाँले यस बिचमा धेरै राम्रा उपलब्धि भएका पनि बताउनुभयो । मौलिक अधिकारहरु स्थापित हुनु, द्वन्द्व अन्त्य भएर मूलतः मुलुक नयाँ कोर्समा अगाडि बढ्नु सकारात्मक पक्ष रहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘‘संविधानको कार्यान्वयन गर्दै हामीले करिब नौ वर्ष बिताएका छौँ । एकातिर असाध्यै राम्रा उपलब्धि पनि भएका छन् । संसारका थोरै देशहरु होलान्, जसले संविधान जारी भएको तेस्रो वर्षमै सङ्घीयताका तीन वटै सेटअपहरु निर्माण गरेर तीनै तहका सरकारहरु स्मोथ्ली चलाएको संसारका धेरै देशहरुमा त्यस्तो देखिँदैन । मौलिक अधिकारहरु स्थापित भएका छन् । द्वन्द्व अन्त्य भएर मूलतः मुलुक नयाँ कोर्समा अगाडि बढेको छ ।’’

उहाँले समतामूलक, न्यायपूर्ण र समुन्नत समाजको परिकल्पना संविधानले गरेको भए पनि त्यसका लागि अझै धेरै कामहरु गर्न बाँकी रहेको बताउनुभयो । संविधानको परिकल्पनाअनुसार समतामुलक, न्यायपूर्ण र समुन्नत समाज निर्माण हुन नसक्नु राजनीतिक अस्थिरता रहेको बताउनुभयो ।

उपमहासचिव ज्ञवालीले भन्नुभयो, ‘‘यत्ति हुँदाहुँदै पनि हामीले स्वीकार गर्नुपर्छ । संविधानले जस्तो खालको समाजको समतामूलक, न्यायपूर्ण र समुन्नत समाजको परिकल्पना गरेको छ, त्यसमा भने हामीले धेरै काम गर्न बाँकी छ । त्यसको एउटा मुख्य कारण मुलुकको राजनीतिक अस्थिरता हो । त्यो अस्थिरताका विभिन्न कारणमध्ये एउटा संविधानका केही व्यवस्थामा समेत अस्थिरता रहेको कारणले अहिले दुई दल मिलेर हामीले अनुभवका आधारमा संविधान संशोधन राजनीतिक स्थायित्वलाई दह्रो बनाउने कुरा गरिरहेका छौँ ।’’

उपमहासचिव ज्ञवालीले सङ्घीयता नौलो अभ्यास रहेकाले गर्दै र सिक्दै जानुपर्ने बताउनुभयो । उहाँले संघ सरकारबाट बन्नुपर्ने केही कानुनहरु नबन्दा प्रदेशले पूर्ण रुपमा अधिकार प्रयोग गर्न नपाएको बताउनुभयो । काठमाडौँमा पानी पर्दा जनकपुरमा छाता ओढ्नुपर्ने राजनीतिक परिवेश बनाउन नहुने बताउनुभयो ।