• १९ असार २०८१, बुधबार

उम्मेदवार गाउँतिर, मतदाता गढीतिर

blog

सिन्धुलीगढी, वैशाख २९  गते । राजनीतिक दलका उम्मेदवार तथा कार्यकर्तालाई यतिखेर स्थानीय तह निर्वाचनको चटारोमा भए पनि सर्वसाधारण मतदाता भने गर्मी छल्न भन्दै सिन्धुलीगढीतिर जान थालेका छन् । सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाढीमा गर्मी बढेसँगै चिसो हावापानी र मनोरम दृश्य रहेको कमलामाई नगरपालिका–३ स्थित ऐतिहासिक स्थल सिन्धुलीगढीमा यतिखेर मानिसको चहलपहल बढ्दै गएको छ । सिन्धुलीगढीमा भेटिनुभएका कमलामाई नगरपालिका–५ निवासी कृष्णबहादुर श्रेष्ठका अनुसार सरदमुकाम सिन्धुलीमाढीमा यतिखेर उखर्माउलो गर्मी छ तर सिन्धुलीगढीमा भने चिसो हावापानी रहेको छ । 

स्थानीय तह निर्वाचनमा मतदान गर्न काठमाडौँसहित विभिन्न ठाउँबाट घर आएकाहरू समयलाई सदुपयोग गर्दै सिन्धुलीगढी घुम्न आउने गरेको उहाँले सुनाउनुभयो । राष्ट्रपति विद्यादेवी भण्डारीले गत साउन महिनामा युद्ध सङ्ग्रहालयको उद्घाटन गर्नुभएपछि कमलामाई नगरपालिकालाई स्वामित्व हस्तान्तरण गरी अवलोकनका लागि खुला गरिएको हो ।

अहिले दैनिक चार सयभन्दा बढी व्यक्ति युद्ध सङ्ग्रहालय र सिन्धुलीगढी घुम्न आउन थालेको कमलामाई नगरपालिकाका वरिष्ठ सामाजिक विकास अधिकृत सागरकुमार ढकालले जानकारी दिनुभयो । सङ्ग्रहालय नेपालकै पहिलो र दुर्लभ भएकाले पनि यसको चासो लिएर हेर्न आउने मानिस बढ्दै गएको उहाँको बुझाइ छ । ढकालले भन्नुभयो, “सङ्ग्रहालय हेर्न आउने मानिसबाट अहिले दैनिक २५ देखि ३० हजार रुपियाँ नगरपालिकालाई आम्दानी भइरहेको छ ।” 

सिन्धुलीगढीमा अहिले बागमती प्रदेश सरकारको साढे चार करोड रुपियाँको लागतमा रानीदरबार निर्माण अन्तिम चरणमा पुगेको छ । पहिले नाम मात्रै रहेको सिन्धुलीगढी युद्ध सङ्ग्रहालय निर्माणपछि घुम्न लायक ठाउँ भएको स्थानीय नयाँखर्क माविका प्रधानाध्यापक लेखबहादुर बस्नेतले बताउनुभयो । 

सङ्ग्रहालय परिसरमा निर्माण भएको वीर योद्धा श्रीहर्ष पन्त, वंशु गुरुङ, वंशराज पाण्डे र वीरभद्र उपाध्यायको प्रतिमा, ठूलोगढी, सानोगढी, युद्धमा प्रयोग भएका किल्ला, पृथ्वीनारायण साहको पूर्णकदको सालिकले गढीको ऐतिहासिक महìव थपेको शिक्षक बस्नेतले सुनाउनुभयो । सङ्ग्रहालयभित्र थिएटरमार्फत गढीको वृत्तचित्रको प्रदर्शनी, तत्कालीन समयमा सेनाले प्रयोग गरेका घरेलु हातहतियार, तोप, गोला, दस्तावेज, तत्कालीन युद्धकालीन समयमा घरेलु सेना र विपक्षी सेनाको पोसाकलगायत ऐतिहासिक वस्तुहरू अवलोकन गर्न सकिन्छ । 

नेपाल एकीकरणका बेला १८२४ असोज १५ गते काठमाडौँ कब्जा गर्न कप्तान किनलोकको नेतृत्वमा आएको आधुनिक हतियारले सुसज्जित अङ्ग्रेज सेनालाई सिन्धुलीगढीको युद्धमा गोर्खाली सेनाले परास्त गरेको थियो ।

Author

बाबुराम देवकोटा