• १६ असार २०८१, आइतबार

मन्त्री अथकद्वारा चौधरीको पार्थिव शवमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली

blog

स्वर्गीय चौधरीको पार्थिव शरिरमा राष्ट्रिय झण्डा ओढाई श्रद्धाञ्जली अर्पण गर्दै युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज। तस्बिर : गोरखापत्र

कोहलपुर, वैशाख २८ गते । भारोत्तोलन खेलाडी सञ्जु चौधरीको पार्थिव शरीरमा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले राष्ट्रिय झण्डा ओढाएर सम्मान ब्यक्त गर्नुभएको छ । बुधबार विहान बाँकेको राप्तिसोनारीस्थित चौधरीको निवासमा पुगेर मन्त्री अथकले राष्ट्रिय झण्डा ओढाई श्रद्धाञ्जली अर्पण गर्नुभएको हो ।

मंगलबार ललितपुरमा मृत अवस्थामा भेटिएकी चौधरीको शव उनको गृह नगर बाँके लगिएको छ । बाँकेको राप्तीसोनारी ३ बेलासपुरमा रहेको घरमा बुधबार चौधरीको शव अन्तिम श्रद्धाञ्जलीकालागि राखिएको थियो । चौधरीलाई अन्तिम श्रद्धाञ्जली दिन बेलासपुर पुग्नुभएका मन्त्री अथकले राष्ट्रिय झण्डा ओढाएर सम्मान ब्यक्त गर्नुभएको हो । 

श्रद्धाञ्जली सभामा बोल्दै मन्त्री अथकले चौधरीको निधनले नेपाली खेल क्षेत्रमा अपुरणिय क्षती पुगेको बताउनुभयो । चौधरीको निधनले सिंगो खेल क्षेत्रलाई स्तब्ध बनाएको उल्लेख गर्दै मन्त्री अथकले श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । 

१३औँ दक्षिण एसियाली खेलकुदमा भारोत्तोलन तर्फबाट स्वर्ण पदक विजेता खेलाडी चौधरी एसियाली खेलकुदको तयारीका क्रममा ललितपुर बस्दै आउनुभएको थियो । प्रशिक्षणकै क्रममा ललितपुरको महालक्ष्मी नगरपालिका ९ लुभुमा बस्दै आएकी २३ वर्षिया चौधरी मंगलबार बिहान ५ः३० बजे मृत अवस्थामा भेटिनुभएको थियो । चौधरीको उहाँकै गृहनगरमा बुधबार धार्मिक बिधि अनुसार अन्तिम संस्कार गरिएको छ ।