• १० पुस २०८१, बुधबार

बाढीपहिरोले क्षति पुर्‍याएको क्षेत्रमा स्थलगत अनुगमन गर्न सरकारसँग माग

blog

नेकपा (एमाले) सांसद तारा लामा तामाङ ।

काठमाडौँ, भदौ ३१ गते । नेकपा (एमाले) सांसद तारा लामा तामाङले असोज अन्तिम साताको बाढीपहिरोले पुर्‍याएको क्षतिको स्थलगत अनुगमन गर्न सरकारसँग माग गर्नुभएको छ ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्नुहुँदै सांसद तामाङले भदौ २७ देखि २९ गतेसम्म पश्चिम केन्द्रित वर्षाका कारण कैलाली, कञ्चनपुर, डोटी र डडेलधुरामा ८ जनाको ज्यान गएको जानकारी गराउनुभयो । ‘‘मृतकका परिवार र बाढीपहिरो पीडितलाई उचित क्षतिपूर्तिको माग गर्दछु ।,’’ कञ्चनपुरबाट प्रतिनिधित्व गर्ने सांसद तामाङले भन्नुभयो ।

सांसद तामाङले कञ्चनपुरमा दोदा, चौधर र महाकाली नदीको बाढीले हजारौँ बिघा धानखेती बगरमा परिणत बताउनुभयो । ‘‘असोजको पहिलो साता जहिल्यै बाढीले क्षति गर्छ, यस पटक अगाडि नै बाढी आएको छ ।,’’ उहाँले भन्नुभयो ।

धनगढीदेखि पुनर्वास, बेलौरी जोड्ने सडक स्थलमार्गको सम्पर्क वर्षाको बेला टुट्ने गरेको उहाँको भनाइ छ । ‘‘महाकाली नदीले तटबन्ध भत्काएको छ, हजारौँ बिघाको धान बगरमा परिणत भएको छ,’’ सांसद तामाङले भन्नुभयो, ‘‘आरक्षपीडित दोहोरो मारमा पर्नुभएको छ । जनता डेलिगेसन लिएर काठमाडौँ आउन खोजेका छन् । विभागीय मन्त्रीज्यूलाई स्थलगत अनुगमनका लाग अनुरोध गरेको छ । उचित क्षतिपूर्तिको माग गर्दछु ।’’