• २१ पुस २०८१, आइतबार

मुस्ताङमा धान खेती

blog

बागवानी विकास केन्द्रमा स्याउसँगै रोपिएको धान ।

अमृतप्रसाद पौडेल

म्याग्दी, भदौ ३१ गते  । सामान्यतः धान खेती नहुने जिल्लाका रूपमा मुस्ताङले पहिचान बनाए पनि अहिले त्यो पहिचान मेटिने भएको छ अर्थात् मुस्ताङमा पनि धान खेती भएको छ । शीतोष्ण बागवानी विकास केन्द्र मार्फाले यस वर्ष आफ्नो क्षेत्रमा परीक्षणका लागि रोपेको जुम्ली मार्सी धान पसाएसँगै मुस्ताङमा पनि धान रोप्न र फलाउन सकिने रहेछ भन्नेतर्फ पनि ध्यान दिन सकिने देखिएको छ । परीक्षणका रूपमा रोपिएको धानले बाला लगाउन थालेपछि केन्द्र उत्साहित बनेको छ ।

केन्द्रका प्रमुख पद्मनाथ आत्रेयका अनुसार गत असार १५ गते रोपेको धान अहिले पसाउन थालेको छ । असार १५ गते रोपेको धान ७० दिनमा एउटा बाला पसाएको उहाँको भनाइ छ । मुस्ताङलाई धान नहुने जिल्लाका रूपमा अहिलेसम्म भनिँदै आएको भए पनि अहिले परीक्षणका रूपमा लगाइएको धानले बाला लगाउन सुरु गरेसँगै अब मुस्ताङमा पनि धन फल्छ भन्न सकिने उहाँको भनाइ छ । “शीतोष्ण बागवानी विकास केन्द्र भनेको कृषि अनुसन्धानका लागि हो । त्यसैले हामीले अनुसन्धानकै रूपमा रोपेको धानले बाला लगाएसँगै यहाँ पनि धान हुन्छ भन्न सकिन्छ कि ?” उहाँले प्रश्न गर्नुभयो ।

मुस्ताङमा अहिलेसम्म धान खेती भएको कुनै जानकारी नभएको कृषि ज्ञान केन्द्र मुस्ताङका कृषि प्रसार अधिकृत निसान खड्काले जानकारी दिनुभयो । हालसम्म जिल्लामा स्याउ रोप्नकै लागि जमिन नभएको अवस्थामा धान रोप्नेतर्फ यहाँका कृषकले नसोचेको वा नहुने भएर भन्ने अन्योल देखिन्छ । खड्काका अनुसार हालसम्म धान रोपेको कुनै तथ्य नभएको र अहिले शीतोष्ण बागवानी विकास केन्द्रले परीक्षणका रूपमा धान रोपेको र अब त्यसले कुन प्रकारको नतिजा ल्याउँछ हेर्न बाँकी छ ।

यसअघि बागवानी विकास केन्द्रमा अङ्गुर तथा खरबुजाको पनि सफल परीक्षण भइसकेको छ । अङ्गुर तेस्रो वर्ष र खरबुजा दोस्रो वर्ष पनि फलाइएको प्रमुख आत्रेयले जानकारी दिनुभयो ।