• २१ पुस २०८१, आइतबार

नाटक महोत्सव सुरु

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ ३१ गते । गायक तथा रङ्गकर्मी स्व. हरिप्रसाद रिमालको शतवार्षिकीमा आयोजित ‘राष्ट्रिय नाटक महोत्सव–२०८१’ राष्ट्रिय नाचघरमा आइतबारबाट सुरु भएको छ  । हरिप्रसाद कल्याणी रिमाल नाट्य सङ्गीत प्रतिष्ठानद्वारा आयोजित महोत्सवको पहिलो दिन यामनारायण आचार्य निर्देशित ‘सति कलसा’ र सुरेश पोर्तेल निर्देशित ‘घरजम’ नाटक मञ्चन गरिएको थियो ।

महोत्सवमा लेखक तथा निर्देशक यादव खरेलले नेपाली नाट्य तथा सङ्गीत क्षेत्रमा रिमालको योगदानको चर्चा गर्दै रेडियो नेपालमा रिमालका साथ सँगै काम गरेको स्मरण गर्नुभयो । उहाँले नाट्यकर्मी रिमालका साथ काम गरेकामध्ये केही व्यक्ति मात्र जीवित रहेका र उनीहरूसँग रिमालबारे बाहिर नआएका विषयमा जानकारी लिई जानकारीमूलक पुस्तक प्रकाशन गर्न सुझाव दिनुभयो ।  

प्रतिष्ठानका उपाध्यक्ष प्रयागराज भट्टराई वाशिष्ठले नेपाली नाट्य, गीत, सङ्गीत, प्रसारण, फिल्मलगायत क्षेत्रमा रिमालको योगदानको चर्चा गर्नुभयो । प्रतिष्ठानका अध्यक्ष प्राडा वासुदेव त्रिपाठीले रिमालले नेपाली नाटक र सङ्गीतका क्षेत्रमा आफ्नै युगको सुरुवात गर्नुभएको र उहाँ सो युगको नायक रहनुभएको बताउनुभयो ।

महोत्सवमा सुदूरपश्चिमबाहेक छ प्रदेशका नाटक मञ्चन हुने जनाइएको छ । प्रदर्शनी गरिने छ नाटकमध्ये उत्कृष्ट तीन नाटकलाई पुरस्कृत गरिने जनाइएको छ । प्रतिष्ठानका अनुसार पहिलो हुने नाटकलाई एक लाख, दोस्रोलाई ५० हजार र तेस्रोलाई २५ हजार रुपियाँ प्रदान गरिने छ । उत्कृष्ट निर्देशक, अभिनेता र अभिनेत्रीलाई जनही १५ हजार रुपियाँ पुरस्कार दिइने जनाइएको छ ।