• २१ पुस २०८१, आइतबार

जनताको सेवामा लाग्ने मन्त्रीद्वयको प्रण

blog

काठमाडौँ, भदौ ३० गते । बानेश्वर बहुमुखी क्याम्पसमा अध्ययन गरेका विद्यार्थी राज्यका विभिन्न उच्च पदमा पुगेर क्याम्पसको गौरव बढाएको भन्दै दुईजना मन्त्रीलाई सम्मानित गरिएको छ । 

बानेश्वर बहुमुखी क्याम्पस र क्याम्पसका पूर्व विद्यार्थी समाजको संयुक्त आयोजनामा क्याम्पसका पूर्व विद्यार्थीहरू आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने र भौतिक पूर्वाधार विकास मन्त्री अमनकुमार मास्केलाई सम्मानित गरिएको हो । उहाँहरू दुवै बागमती प्रदेश सरकारमा मन्त्री हुनुहुन्छ । 

कार्यक्रममा मन्त्रीद्वय सुरजचन्द्र लामिछाने र अमनकुमार मास्केले आफू अध्ययन गरेको क्याम्पसको प्रतिष्ठा उच्च रहने गरी देश र जनताको सेवामा समर्पण गर्ने प्रण गर्नुभयो ।

कार्यक्रममा बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री लामिछानेले जनतामा प्रदेश सरकार भएको अनुभूति गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

उहाँले तीन तहका सरकारबिच समन्वय गर्ने नीति तथा संयन्त्रको आवश्यकता औँल्याउनुभयो ।

भौतिक पूर्वाधार विकास मन्त्री मास्केले जनताको मन मस्तिष्कमा रहने गरी विकास निर्माणका  कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले काम गर्दा सामूहिक कार्य, विश्वास र पारदर्शिताका साथ गर्ने अठोट व्यक्त गर्नुभयो । 

कार्यक्रममा क्याम्पसका पूर्व विद्यार्थी समाजका अध्यक्ष लक्ष्मण लम्साल, क्याम्पस प्रमुख प्रा.डा.घमानसिंह खड्का र क्याम्पस सञ्चालक समितिका अध्यक्ष हरिबोल भट्टराईले मन्त्रीद्वयकाे  बधाई तथा सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

क्याम्पस प्रमुख प्रा.डा. खड्काले सङ्घ प्रदेश र स्थानीय तहबिच समन्वयको आवश्यकता औँल्याउँदै सरकारले जनताका आकाङ्क्षा अनुरूप नीति तथा कार्यक्रम निर्माण गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । 

सभापति भट्टराईले रोजगारमूलक शिक्षा प्रदान गर्ने नीति बनाई युवा शक्तिलाई देशमा नै रोजगारी सृजना गर्न सुझाव दिनुभयो । 

पूर्व विद्यार्थी समाजका अध्यक्ष लम्सालले क्याम्पसको सर्वाङ्गीण विकासका लागि पूर्व विद्यार्थी समाजले पहल गर्ने बताउनुभयो ।