• ८ मंसिर २०८१, शनिबार

जुनारमा सुँडे पुतलीको प्रकोप, पुतली मार्नेलाई पुरस्कारको घोषणा

blog

बाबुराम देवकोटा 

गोलन्जोर (सिन्धुली), भदौ ३० गते । गोलञ्जोर गाउँपालिका–४, माझकुभिण्डे निवासी केदारराक्से ठकुलीलाई जुनारको बगैँचामा जति जति फल बढ्दै गइरहेको छ, त्यति त्यति चिन्ता पनि थपिँदै गइरहेको छ । जुनारमा सुँडे पुतलीको प्रकोप बढेसँगै उहाँलाई चिन्ता थपिएको हो ।

यतिखेर उहाँको साढे नौ रोपनी जमिनमा गरिएको व्यावसायिक जुनार खेतीमा लटरम्म फल लागेको छ । सुँडे पुतली राति फलमा बसेर रस चुस्ने र फल कुहाउने समस्या देखिएको उहाँले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “बर्सेनि जुनार खेतीबाट १० लाख रुपियाँभन्दा बढी आम्दानी लिँदै आएको थिए तर यो वर्ष सुँडे पुतलीको प्रकोपले धेरै क्षति सहनु पर्ला जस्तो छ ।”

जुनारमा गुलियो रस भरिँदै जाँदा सुँडे पुतलीले जुनार नै सखाप पार्न थालेको किसानको गुनासो छ । उनीहरूका अनुसार सुँडे पुतली नियन्त्रण गर्न अहिलेसम्म कुनै ठोस उपाय छैन । सुँडे पुतली मार्न र धपाउन कतिपय किसानको त रातभरि नै जुनार बगैँचामा बास हुने गरेको छ । खास गरी रातको समयमा सुँडे पुतली फलमा आएर बसेर सुँड गाडेर रस चुस्ने र चुसेको फल पँहेलो भई झरेर कुहिने भएकाले समस्या देखिएको गोलन्जोर गाउँपालिका–५ का अर्का जुनार किसान निर्मलकुमार रम्तेल बताउनुहुन्छ । 

गाउँपालिकाले हालै एक सूचना जारी गरी फल चुस्ने सुँडे पुतली समातेर मार्नेलाई प्रतिपुतली प्रोत्साहनस्वरूप दुई रुपियाँ दिने जनाएको उहाँले सुनाउनुभयो । गाउँपालिकाले सुँडे पुतली समातेर सम्बन्धित वडा कार्यालयमा बुझाएमा प्रोत्साहनबापत प्रतिपुतलीको दुई रुपियाँ प्रदान गर्ने उल्लेख गर्दै सार्वजनिक सूचना जारी गरेको छ । “तत्कालका लागि पुतली समात्ने र मार्नेभन्दा अरू उपाय छैन,” गाउँपालिका अध्यक्ष शङ्करराज बरालले भन्नुभयो, “त्यसैले गाउँपालिकाले पुतली समातेर मार्नेलाई दुई रुपियाँ नगद प्रोत्साहनस्वरूप प्रदान गर्ने निर्णय गरेको हो । सुँडे पुतली समातेर वा मारेर गाउँपालिकाको कुनै पनि वडामा बुझाए प्रतिपुतली दुई रुपियाँ दिने निर्णय गरेका हौँ ।”

पुतली अँध्यारोमा जुनारको फलमा आउने भएकाले रातको समयमा निगरानी गरी किसान र प्राविधिक भएर पुतली समाउने काममा लागेको जुनार सुपरजोनका प्राविधिक जहानसिंह कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार जुनारमा सुँडे पुतली देखिएपछि किसानसँगै प्राविधिकसहित भएर रातिको समयमा पुतली समाउने गरिएको हो ।

सुँडे पुतली न्यूनीकरणका लागि लिसोको पासोमा पार्ने, लाइटको व्यवस्था गर्ने, रातमा समाउने र मार्ने, बोटमा नेट झुलको प्रयोग गर्ने तथा अम्बा, केरा जस्ता फलफूल देखाएर आकर्षित गरी समाउने अभियान सुरु गरिएको सुपरजोन कार्यालयले जनाएको छ । राति बत्ती बालेपछि पुतली नभाग्ने भएकाले समाउन सकिने प्राविधिकहरूको भनाइ छ ।  सुपरजोनका अनुसार गएको सिजनमा जिल्लामा करिब १० हजार पाँच सय मेट्रिक टन जुनार जिल्लामा उत्पादन भएको थियो ।