• ७ मंसिर २०८१, शुक्रबार

‘महाराजको सवारी’ कथामा अनुभूतिको संरचना

blog

साहित्यकार विश्वेश्वरप्रसाद कोइराला (विसं १९७१–२०३९) मनोवैज्ञानिक यथार्थवादी कथाकार हुन् । यिनले नेपाली साहित्यका कथा, उपन्यास, कविता, निबन्ध, आत्मवृत्तान्त जस्ता विधामा योगदान दिएका छन् । यिनका दोषी चस्मा (२००६) र श्वेत भैरवी (२०३९) कथासङ्ग्रहहरू प्रकाशित छन् । यिनका कथाहरूको समग्र सङ्कलन विश्वेश्वरप्रसाद कोइरालाका कथा (२०५०) मा गरिएको छ ।

रेमन्ड विलियम्स (सन् १९२१–१९८८) ले अनुभूतिको संरचनासम्बन्धी मान्यतालाई सन् १९५४ मा ‘प्रिफस टु फल्म एन्ड ड्रामाटिक ट्रेडियन्स’ नामक लेखका माध्यमबाट प्रस्तुत गरेको पाइन्छ । उनी संस्कृति, साहित्य र समाजको अन्तर्सम्बन्धको अध्ययन गर्ने बेलायती साहित्यिक समाजशास्त्री हुन् । यिनले अभिजात संस्कृति र विचारधारसँग सङ्घर्ष गरी संस्कृति, साहित्य र समाजसम्बन्धी मान्यताको विकास गरेका हुन् । जीवन्त अनुभूतिका रूपमा कृतिमा संस्कृति व्यक्त हुने र त्यही साहित्यिक अध्येताको विषय बन्ने धारणा उनको छ । विलियम्सले प्रस्तुत गरेको संस्कृति र अनुभूतिको संरचनालाई सैद्वान्तिक रूपमा सङ्क्षिप्त चर्चा गर्दै त्यसका सापेक्षतामा विश्वेश्वरप्रसाद कोइरालाको महाराजको सवारी कथामा व्यक्त पिँढी र प्रभुत्वकोे स्थिति तथा दबाब र तनावका स्थितिका माध्यमबाट अनुभूतिको संरचनाको अध्ययन यसमा गरिएको छ ।

अनुभूतिको संरचना 

अनुभूतिको संरचना बेलायती साहित्य चिन्तक रेमन्ड विलियम्सद्वारा प्रतिपादित साहित्यको समाजशास्त्रीय अध्ययन गर्ने एउटा पद्धति वा सिद्धान्त हो । यो ‘स्ट्रक्चर अफ फिलिङ’ अङ्ग्रेजी पदावलीको नेपाली रूपान्तर हो । यसबाट अनुभवको बनोट, पूर्ण ज्ञानको बनावट वा ढाँचा मनस्थितिको सीमामा घुसिसकेको मानसिक अनुभव, परिज्ञानको वस्तु विशेषको बनावट भन्ने अर्थ निस्कन्छ । विलियम्सका विचारमा सामाजिक प्रव्रिmयामा जुन कुरा व्यवस्थाबद्ध तथा सुनिश्चित हुँदैन, त्यसबाट कला साहित्यको निर्माण हुन्छ । उनका अनुसार विश्वास, व्यवस्था, संस्था, विचारधारा आदिको सम्बन्धबाट मान्छेमा जुन कुराको अनुभव हुन्छ, त्यसैबाट अनुभूतिको संरचना निर्माण हुन्छ । उनले यसलाई संवेदनाको संरचना पनि भनेको पाइन्छ । संवेदना एवं सहानुभूतिबाटै कुनै निरीह वा दुःखी व्यक्तिहरूप्रति एक प्रकारको भावना व्यक्त हुन्छ । यही भावनाले मूर्त रूप लिएपछि कला वा साहित्य बन्छ । यसैलाई अनुभूतिको संरचना भन्न सकिन्छ । 

विलियम्सले लेखक र उसको प्रतिभाको कदर गरेका छन् । लेखकका सामाजिक आर्थिक अवस्थामा विशेष ध्यान पु¥याएका छन् । लेखकलाई कृति र समाजबिचको सेतु मान्ने धारणाको खण्डन गरेका छन् । लेखकलाई कुनै निश्चित सीमामा नबाँधी स्वतन्त्र कलाकार ठानेका छन्  । 

समाजमा संस्कृति आर्थिक या राजनीतिक व्यवहार जस्तो आधारभूत व्यवहार हो । संस्कृतिबाट समाजको स्वरूप बन्छ । सांस्कृतिक प्रव्रिmया समाजका आर्थिक, राजनीतिक जस्ता प्रव्रिmया, व्यवहार, साधन र परिस्थितिबाट प्रभावित हुन्छ र यिनलाई प्रभावित बनाउँछ भन्ने मान्यतालाई विलियम्सले अगाडि सारेको पाइन्छ । विलियम्सले अनुभूतिको संरचना सिद्धान्तको विश्लेषणका लागि कृतिमा अभिव्यक्त पिँढीगत समूह तिनका प्रकार, चरित्र र तिनीहरू बिचको अन्तर्सम्बन्ध तथा दबाब र तनावका परिप्रेक्ष्यमा एकै कालखण्डमा पिँढीगत अनुभूतिको अवस्था गरी दुई आधार खोजेका छन् । तिनै आधारमा यहाँ महाराजको सवारी कथाको विश्लेषण गरिएको छ ।

पिँढी र प्रभुत्वको परिप्रेक्ष्य

मूलतः मोरङ जिल्लाको उत्तरतिरको थारू समाजको परिवेशमा ‘महाराजको सवारी’ कथा रचिएको छ । यस कथामा काठमाडौँको पनि सामान्य चर्चा छ । यो कथामा महाराज,  बडाहाकिम र चौकीदारले पहिलो पिँढी वा समुदायको प्रतिनिधित्व गरेका छन् भने रामे, घने, गने, श्यामे जस्ता पात्रहरूले दास्रो पिँढीको प्रतिनिधित्व गरेका छन् । कथामा तेस्रो अर्थात् उदीयमान पिँढीको उपस्थिति देखिँदैन । 

कथामा पहिलो पिँढी वा समुदायमा पारिवारिक, सामाजिक, राजनीतिक तथा परम्परागत सांस्कृतिक प्रभुत्वशाली संस्कृति देखिन्छ भने दोस्रो पिँढी वा समुदायमा अधीनस्थ संस्कृति देखिन्छ । महाराजको सवारी मोरङ जिल्लामा हुने भएपछि त्यसको प्रबन्धका लागि गरेको तयारीबाट उसको संस्कृति प्रभुत्वशाली वर्गको छ भन्ने कुरा यसरी पुष्टि गर्न सकिन्छ :

महाराजको सवारी मोरङ जिल्लामा हुने भयो । यस ठुलो अवसरको उपयुक्त सब काम धुमधामसँग हुन थाल्यो । त्यस जिल्लाका बडाहाकिमदेखि लिएर मालका सिपाहीसम्म व्यस्त थिए । सारा जमिनदारहरूका जिम्मामा धेरै काम सुम्पियो । प्रत्येकले १९ गाडी दाउरा, ८ गाडी घाँस, २० गाडी पराल इत्यादिको प्रबन्ध गर्नुपर्ने भयो । आआफ्नो जमिनदारीमा पर्ने सडकको मर्मत या सडकै नभएका ठाउँसम्म सडक बनाउनुपर्ने भयो । जमिनदारका मौजा–मौजामा सिपाही लौरा लिँदै कुदेर तराईका अल्छी रैतीलाई काममा व्यस्त पारे । 

यसरी महाराजको सवारीका लागि सम्पूर्ण बन्दोबस्त गरिन्छ । सडक निर्माणका लागि समेत गाउँका सोझा साझा जनतालाई प्रयोग गरेर भोकभोकै काम लगाइएको छ । बडाहाकिममार्फत चौकीदारले रामे, घने, गने, श्यामे जस्ता गाउँका व्यक्तिलाई कुट्दै बाटो खन्न लगाएको छ । यी चार व्यक्तिहरू राजाका सवारीका लागि बाटो खन्छन् । चौकीदारमार्फत बडाहाकिमले साठी हजार रुपियाँ बचाएर बाटो बनाउँछ । यसरी उसले महाराजबाट कमान्डिङ कर्नेलको ओहदा पाउँछ । यसैले बडाहाकिममा प्रभुत्वशाली संस्कृति देखिन्छ । यस कुराको पुष्टि कथाको प्रस्तुत अंशले गर्दछ : 

उता सवारीका निम्ति सडक बनाउनलाई हुकुम भएको ६०,०००/– रुपियाँ बचाएबापत बडाहाकिमले कमान्डिङ कर्नेलको ओहदा पाए । जोगबनी स्टेशनमा राजाले मोरङबासीसँग बिदा लिँदा हुकुम बक्सियो– “हाम्रा बडाहाकिमले राम्रो काम गरेको रहेछ । नुनको सोझो गरी सरकारी रुपियाँ बचाइदिएको बापत बडाहाकिमलाई हामी कमान्डिङ कर्नेल बनाउँछौँ । ....जय जयकारको तुमुल ध्वनिका साथ राजाको स्पेसल गाडीले जोगवनीको स्टेसन छाड्यो । ६०,०००/– को के मूल्य आजकालको दाम बढेको समयमा बल्ल बल्ल दुई वटा मोटर किन्न सकिन्छ । तिनै दुई वटा मोटर काठमाडौँको सडकको शोभा बढाउन थपिए । 

त्यस्तै चौकीदार पनि एक प्रकारले प्रभुत्वशाली संस्कृतिको प्रतिनिधित्व गर्ने चरित्रका रूपमा देखा परेको छ । उसले रामे, घने, गने, श्यामे जस्ता निमुखा सोझा व्यक्तिलाई सामन्ती संस्कार र संस्कृतिका आडमा केही नदिई बिनापारिश्रमिक, भोकभोकै पारेर कुट्दै बाटो खन्न लगाएको छ । तलको साक्ष्यबाट उक्त कुराको पुष्टि गर्न सकिन्छ :

चौकीदार त्यो देखेर झपार्दै आयो र एक बेत घनेको पिठिउँमा स्वाँट्ट हानेर भन्यो– के खेलाँची गरिरा’छस् ? निकोर्सिसम्म यो सडक तयार हुनु पर्छ । माटो नमिलाएर किन काटेको ? देखाइदिएको काम गर्नु छैन । घनेको पिठिउँमा फेरि एक चोटि बेत पा-यो । .... चौकीदारले कुद्दै तिनीहरूनेर आएर हकार्दे भन्यो– किन बिहान काममा आउनुभन्दा पहिले खाएर आएनौ त ? जिउ चोराहा । पिठिउँमा लट्ठी नपरुन्जेल तिमीहरू केही गर्न जान्दैनौँ । फर्क काममा लाग । 

कथामा रामे, घने, गने, श्यामे जस्ता पात्रहरूलाई प्रभुत्वशाली शासनकतुल्य पिँढीले अधीनस्थ बनाएको छ । उनीहरूलाई बडाहाकिम र चौकीदारले ठगेर सडक निर्माणमा लगाएका छन् । सोझासाझा ती व्यक्तिहरू जनताको जग्गा पनि तिरो तिर्ने भएकाले राजाकै हो भन्ने भ्रम चौकीदारबाट परेकाले त्रसित छन् । कुटाइ खाँदै शारीरिक यातना भोग्दै बाटो खन्छन् । यस कुराको पुष्टि कथाको प्रस्तुत अंशबाट गर्न सकिन्छ :

चौकीदारले भन्न लाग्यो– बुझिस् गने, सारा मुलुक राजाको हो । तेरो खेत जसमा तँ हलो जोत्छस् त्यो पनि राजाको हो । ....आफ्नो खेतको तँ तिरो तिर्छस् कि तिर्दैनस् ? आफ्नो खेत भए किन तिर्छस् ? बुझिस् राजाको खेत हो, त्यसो हुनाले तैले तिरो भर्नु पर्छ । राजाले चाहे तेरो खेत खोसेर लिन सक्छन् । 

यसरी हेर्दा तत्कालीन राजसी संस्कार र संस्कृतिको महाराज, त्यसैको भक्त बडाहाकिम र चौकीदारसमेत प्रभुत्वशाली पिँढी वा समुदायमा पर्छन् भने उनीहरूबाट शोषित, पीडित रामे, घने, गने, श्यामे जस्ता पात्रहरू अधीनस्थ पिँढी वा समुदायमा पर्छन् । उनीहरूमा प्रतिरोधी चेतना पाइँदैन । उनीहरूलाई बोलाउँदा पनि तल्लो दर्जामा राखी रामे, घने, गने, श्यामे भनिएको छ । कथामा पनि उनीहरूलाई असभ्य र जङ्गली भनिएको छ । 

दबाब र तनावको परिप्रेक्ष्य

मोरङ जिल्लाको उत्तरतिरको थारू समाजको परिवेशमा रचिएको ‘महाराजको सवारी’ कथामा पहिलो पिँढी वा समुदाय र दोस्रो पिँढी वा समुदायको प्रतिनिधित्व गर्ने पात्रहरूका बिच भएका व्रिmयाप्रतिव्रिmयाका कारण एकअर्काले दबाब र तनावजन्य अनुभूति गरेको पाइन्छ । महाराजको सवारीका कारण मोरङ जिल्लाको थारूहरूका समाजमा एक प्रकारको दबाब र तनावजन्य स्थिति उत्पन्न भएको छ । यस कुराको पुष्टि प्रस्तुत कथाको अंशले गर्छ : 

उत्तरतिर महाराजको सवारी हुने भयो, त्यसो हुनाले अड्डा अदालतका सिपाहीहरू राता फेटा लाउने त्यतातिर पनि वैरिए । कति सय वर्षदेखि एकनाससँग शान्तिपूर्वक जीवन बिताइरहेका ती थारूहरूका समाजमा सिपाहीहरूको दौडादौडले, तिनीहरूको हकारले, तिनीहरूको लाठीको प्रहारले एक किसिमको कोलाहल मच्चियो । सिपाही चौकीदारहरू त्यहाँ भएका सबै जवान मानिसहरूलाई उठाउँदै सडक बनाउन, जङ्गल फाँड्न, दाउरा काट्न लगाउन थाले । स्वास्नी मानिसहरू र बालबच्चाहरू आआफ्ना छाप्रामा अगाडि उभिएर विस्फारित नयनले यो उपद्रो हेरिरहेका थिए । 

कथामा आर्थिक र सामाजिक–शैक्षिक दृष्टिले पिछडिएका अशिक्षित नेपाली जनताको दर्दनाक कथाव्यथा प्रस्तुत गरिएको छ । मान्छेले मान्छेकै शासनमा कसरी पशुतुल्य व्यवहार गरी उसलाई तड्पाएको छ भन्ने कुरा चौकीदार र बडाहाकिमबाट सताइएका रामे, घने, गने, श्यामे जस्ता पात्रहरूको स्थितिबाट स्पष्ट हुन्छ । कथाको निम्नलिखित अंशबाट उक्त कुराको पुष्टि हुन्छ :

बल्लबल्ल दिनभरि भोकभोकै रही कति बेतका प्रहारलाई सही तिनीहरूले बाटो बनाए । ती बेगार कुल्लीहरूको हृदयलाई पनि राजाको सवारीको निमित्तको धुमधामको आयोजनाले प्रभावित पा-यो । ... रामे, घने, गनेहरू उत्सुक भएर सडकको छेउमा उभिरहेका थिए । राजा कस्तो होला ? तिनीहरूका स्वास्नीमानिसहरू आफ्ना बालबच्चालाई छाप्रामा हुलेर अनिश्चित आतङ्कले छट्पटाइरहेका थिए । 

चौकीदार र रामे, गनेबिच भएका संवादमा पनि दबाब र तनावको स्थिति पाइन्छ । जब चौकीदारले बडाहाकिममार्फत सम्पूर्ण तिरो रकम राजाको ढुकुटीमा जान्छ, त्यसैले राजा धनी छन्, यो सारा मुलुक राजाकै हो, राजाले चाहेमा सबै लिन सक्छन् भन्छ, तब गनेमा एक प्रकारको दबाब र तनावजन्य परिस्थिति उत्पन्न हुन्छ । उसले “कसरी मेरो खेत राजाको भयो ? मेरो बाबुबराजुका पालादेखि यो खेत हामीले जोत्दै आएका छौँ भन्छ, त्यसपछि चौकीदारले “आफ्नो खेतको तँ तिरो तिर्छस् कि तिर्दैनस् ? आफ्नो खेत भए किन तिर्छस् ? बुझिस् राजाको खेत हो, त्यसो हुनाले तैले तिरो भर्नु पर्छ । राजाले चाहे भने तेरो खेत खोसेर लिन सक्छन्,” भन्छ । यसपछि भने गनेको चित्त बुझ्छ तर ऊ शान्त हुन सक्दैन । उसलाई एक प्रकारको तनावजन्य स्थिति पैदा हुन्छ । यसको पुष्टि तलको अंशबाट गर्न सकिन्छ :

गनेको चित्त बुझ्यो तर यस ज्ञानले त्यसको चित्त शान्त भएन । जुन खेतलाई त्यो आफ्नो भनीकन, सालसालैमा मल हालीकन, उब्जाउ बनाउँथ्यो, त्यसलाई अर्काको भनिदिँदा त्यसको मन घबरायो । आफ्नो त होइन रहेछ भन्ने त त्यसलाई पूरा विश्वास भयो, नत्र किन मालपोत तिर्छ त ? 

यसै गरी कथामा मूलतः रामे, घने र गने जस्ता तीन पात्रहरूमा प्रभुत्वशाली पिँढीका कारण दबाब र त्यसबाट उत्पन्न भएको तनावलाई देखाउन सकिन्छ । चौकीदारका कारण ती तीन पात्रहरूले विभिन्न प्रकारको दबाब र तनाव झेलिरहेका छन् । चौकीदारलाई बडाहाकिमको दबाब छँदै छ । त्यस्तै बडाहाकिमलाई पनि आफूले चाकडी गरेर महाराजबाट बक्सिस पाइने र नुनको सोझो गर्नुपर्ने एक प्रकारको दबाब नै देखिन्छ । कथामा रामे, घने र गनेको दबाब र तनावजन्य परिस्थितिलाई यसरी देखाएको छ :

घनेको पिठिउँमा फेरि एक चोटि बेत प-यो । ऊ अवाक् भएर पिठिउँ सुमसुम्याउँदै उठ्यो र ढुङ्गा किच्न थाल्यो । गर्मीको दिन झन् घाँचमा जङ्गल पहाडले हावा रोकिदिने हुनाले उकुसमुकुसको गर्मी थियो । पसिना पुछ्दै तीनै जना घने, गने र रामे जुरुक्क उठे र नजिकैको गाछीमा छायामा बिताउन लम्किए । चौकीदारले बेतलाई हावामा हल्लाउँदै थाम्न भन्यो । तिनीहरूले कराएर भने– बिसाउँछौँ । 

एकातिर रामे, घने, गने जस्ता पात्रहरूको दबाब र तनावजन्य अनुभूति देखाइएको छ भने अर्कातिर बडाहाकिमको दबाब र तनावजन्य अनुभूतिलाई कथामा यसरी स्पष्ट पारिएको छ : 

चौकीदारहरू अस्तिको भन्दा सय गुना धेरै थपिए । रामे, गने इत्यादिले देखे शेरबहादुर श्रेष्ठ असिनपसिन गर्र्दै यताउति कुदिरहेको थियो । सेरबहादुरको यो दशा देखेर तिनीहरू राजाका बारेमा झन् ठुलो कल्पना गर्न थाले । शेरबहादुरमाथि तिनीहरूलाई एक चोटि दया पनि आयो तर भित्री दिलमा तिनीहरू खुसी नै थिए । रामेले साथीहरूलाई कुहिनाले घोचेर भन्यो– हेर गाँठे त्यो फेरि फर्कियो । केही बिर्सिएछ क्यारे ।  सबै हाँसे । 

कथाकार विश्वेश्वरप्रसाद कोइरालाका दोषी चस्मा (२००६), श्वेत भैरवी (२०३९) दुई कथासङ्ग्रहहरू प्रकाशित छन् । यिनका समग्र कथाहरूको सङ्कलन विश्वेश्वरप्रसाद कोइरालाका कथा (२०५०) मा गरिएको छ । यिनले नेपाली भाषामा जम्माजम्मी २६ ओटा कथा मात्र लेखेका छन् ।

यिनका २६ ओटा कथामध्ये ‘महाराजको सवारी’ कथालाई बेलायती साहित्य चिन्तक रेमन्ड विलियम्सद्वारा प्रतिपादित साहित्यको समाजशास्त्रीय अध्ययन गर्ने अनुभूतिको संरचना सिद्धान्तका कोणबाट विश्लेषण गरिएको छ । यसमा पनि मूलतः पिँढी र प्रभुत्व अनि दबाब र तनावको परिप्रेक्ष्यलाई आधार बनाइएको छ । यहाँ पहिलो पिँढी शासकतुल्य प्रभुत्वशाली, दोस्रो प्रभुत्वशाली पिँढीको सांस्कृतिक अधीनस्थता स्वीकार गर्न बाध्य भई त्यसका विरुद्धमा विकल्प निर्माण गर्न नसक्ने र तेस्रो प्रभुत्वशाली पिँढीको विकल्पमा अनुभूतिको संरचना निर्माण गर्ने आधारलाई प्रमुख बनाएर कथा विश्लेषण गरिएको छ । 

यी आधारमा हेर्दा “महाराजको सवारी कथामा महाराज, बडाहाकिम, चौकीदार पहिलो पिँढी वा समुदायको प्रतिनिधित्व गरेका छन् । रामे, घने, गने, श्यामे जस्ता पात्रहरू दोस्रो पिँढीमा पर्छन् । यस कथामा तेस्रो पिँढीको उपस्थिति छैन ।

यिनै पात्रहरूका क्रियाप्रतिक्रियाबाट दबाब र तनावको स्थिति केलाइएको छ । यसरी हेर्दा महाराजको सवारी कथामा विभिन्न पात्रले विभिन्न किसिमबाट दबाब र तनावजन्य अनुभूति गरेको पाइन्छ ।  मधुपर्क