• ८ मंसिर २०८१, शनिबार

यागी चक्रवातको प्रभाव म्यानमारमा बढ्यो, भियतनाममा घट्यो

blog

तस्बिर : एएफपी

म्यान्मा, भदौ २८ गते । यागी नाम दिइएको चक्रवातको प्रभाव भियतनाममा कम हुन थालेको छ भने म्यानमारका कैयौँ क्षेत्रमा वृद्धि भएको छ । उत्तरी भियतनाम, लाओस, थाइल्यान्ड र म्यानमार क्षेत्रहरूमा यागीका कारण बाढी र पहिरोले विपत्ति निम्त्याएको छ ।

यागीका कारण प्रभावित देशहरूमा मृत्यु हुनेको सङ्ख्या २८० पुगेको छ । जसमध्ये भियतनाममा मात्र २३३ र म्यानमारमा ३६ जना रहेका छन् । यद्यपि, धेरै मानिस बेपत्ता भएका कारण मृतकको सङ्ख्या अझै बढ्नसक्ने अनुमान गरिएको छ ।

म्यानमारको अग्नि नियन्त्रण सेवाले शुक्रबार १७ जनाको मृत्यु भएको पुष्टि गरेको छ भने आँधीले निम्त्याएको विपतका कारण ५० हजारभन्दा बढी मानिसहरू विस्थापित भएको  जनाएको छ । 

म्यानमारको राजधानी वरपरको क्षेत्रमा यागीले निम्त्याएको बाढीका कारण पहिरो आउदा बिजुलीको टावर, भवन, सडक, पुल र घरहरू ध्वस्त भएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

सामाजिक सञ्जालमा पोस्ट गरिएको फुटेजमा यस क्षेत्रमा गाउँलेहरूले सुरक्षित स्थानमा पुग्न हात्तीमा चढी गएको देखाइएको छ ।

भियतनाममा मौसममा सुधार आएसँगै सफा आकाशमुनि राजधानी हनोईका केही भागमा  पानी कम भएपछि बासिन्दाहरू सडकबाट भग्नावशेष र हिलो सफा गर्न घरबाहिर निस्केको देखिएको छ । 

यागीका कारण उत्तरी थाइल्यान्ड प्रभावित हुँदा म्यानमार सीमामा समेत सबैभन्दा खराब बाढी आएको थियो । प्रधानमन्त्री पेतोङ्तार्न सिनावात्राले सेनाको नेतृत्वमा भइरहेको राहत कार्यको मूल्याङ्कन हेर्न शुक्रबार चियाङ राईको भ्रमण गर्ने तय भएको छ । 

यसैबिच, लाओसको राजधानी भियन्तियानसहित मेकोङ नदीको किनारमा रहेका धेरै स्थानहरूमा बाढीको चेतावनी दिइएको छ भने मेकोङ नदी आयोगले भियन्तियान वरपरका न्यून उचाइ भएका क्षेत्रमा आगामी  दिनमा बाढी आउने अनुमान गरेको छ । रासस/एएफपी