• २६ पुस २०८१, शुक्रबार

‘बिआरआईबाट लाभ प्राप्त गर्नेमा हामी आशावादी छौं’

जबजलाई अङ्गीकार गर्दै समाजवादतर्फ अघि बढिरहेका छौँ : एमाले सचिव भट्टराई

blog

चीनको राजधानी बेइजिङमा भएको १४ औँ विश्व समाजवाद फोरमलाई सम्बोधन गर्नुहुँदै नेकपा (एमाले) का सचिव योगेशकुमार भट्टराई। तस्बिर सौजन्य : प्रेम गुरागाईँ

काठमाडौँ, भदौ २६ गते। नेपाल कम्युनिस्ट पार्टी (एमाले)का सचिव योगेश भट्टराईले जनताको बहुदलीय जनवाद (जबज)लाई अङ्गीकार गर्दै शान्तिपूर्ण बाटोमार्फत समाजवादतर्फ नेपाल अघि बढिरहेको बताउनुभएको छ। 

चिनियाँ सामाजिक विज्ञान प्रतिष्ठानको आयोजनामा बेइजिङमा भएको  १४ औँ विश्व समाजवाद फोरमलाई सम्बोधन गर्दै एमाले सचिव भट्टराईले  शान्तिपूर्ण प्रक्रियामार्फत आमजनताको समर्थनसहित समाजवादको बाटोमा  नेपाल अघि बढेको स्पष्ट गर्नुभयो। 

“नेपालमा हामी समाजवादी उन्मुख संविधान स्वीकार गर्दै सामाजिक–आर्थिक असमानतालाई सम्बोधन गर्न अघि बढिरहेका छौँ, जसमा प्रमुख राजनीतिक दलहरूको सामूहिक विवेक समावेश छ।  जननेता मदन भण्डारीको नेतृत्वमा एमालेले जनताको बहुदलीय जनवादको सिद्धान्त विकास गरेको छ,” उहाँले भन्नुभयो,  “हामी नेपाली अभ्यास र नेपाली भूमिमा मार्क्सवादको रचनात्मक प्रयोगमा आधारित जबजको मार्गदर्शनसहित शान्तिपूर्ण माध्यमबाट समाजवाद हासिल गर्न चाहन्छौँ। ”

एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठित वर्तमान सरकारले छिमेकी देशसहित सबै मित्रराष्ट्रको साथ, सहयोग र ऐक्यबद्धताको अपेक्षा गरेको सचिव भट्टराईले बताउनुभयो।  उहाँले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वतन्त्रताको रक्षा गर्दै देश र जनताको पक्षमा कसैसँग सम्झौता नगरी आर्थिक समृद्धिका पक्षमा नेपाल जुटिरहेको उल्लेख गर्नुभयो।  एमाले नेता भट्टराईले पारस्परिक लाभ र भाइचाराको सम्बन्धलाई जोड दिँदै विश्व शान्ति र एकताको पक्षमा नेपाल रहेको स्पष्ट गर्नुभयो। 

चीनबाट धेरै कुरा सिक्न चाहन्छौँ

सचिव भट्टराईले  चिनियाँ समाजवादको मोडेल सफल रहेको भन्दै चीनबाट अझ धेरै कुरा सिक्न चाहेको बताउनुभयो।  उहाँले भन्नुभयो, “चिनियाँ समाजवादको मोडेल सफल छ।  हामी चीनबाट अझ धेरै कुरा सिक्न चाहन्छौँ।  म तपाईँ चिनियाँ कमरेडलाई चिनियाँ कम्युनिस्ट पार्टी र राष्ट्रपति सी जिनपिङको नेतृत्वमा हासिल गरेको ठुला सफलताका लागि धन्यवाद दिन चाहन्छु। ”

उहाँले भन्नुभयो, “नेपाल भू–राजनीतिक रूपमा संसारका पहिलो र दोस्रो जनसङ्ख्या भएका देश चीन र भारतको बिचमा छ।  चीन तीव्र रूपमा समृद्धितर्फ अघि बढिरहेको छ।   हामी यो अवसरलाई नेपाली जनताको समृद्धि र खुसीका पक्षमा उपयोग गर्न चाहन्छौँ। ”

सचिव भट्टराईले नेपालले सन् २०१७ मा समृद्धि र विकासको अपेक्षासहित बिआरआईमा हस्ताक्षर गरेको उल्लेख गर्दै बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई)बाट ठोस लाभ प्राप्त गर्नेमा आशावादी रहेको बताउनुभयो। 

‘समाजवादी देशहरूबिच सहयोग अपरिहार्य’

सचिव भट्टराईले मानव सभ्यता र पृथ्वीलाई जोगाउन समाजवादी देशहरूबिच सहयोग अपरिहार्य रहेको धारणा राख्नुभयो।  उहाँले भन्नुभयो, “समाजवादी देशहरूको सङ्ख्या कम छ, वित्तीय रूपमा त्यति सबल छैनन्।  यस्तो अवस्थामा समाजवादी मुलुकहरूका बिच सहयोग र सहकार्य आवश्यक छ। ”

 बेइजिङमा जारी १४औँ विश्व समाजवाद फोरममा ३० देशका  एक सय ५० भन्दा बढी प्रतिनिधि सहभागी छन्।