अर्जुन काफ्ले
स्याङ्जा, भदौ २६ गते । नेपाली कांग्रेसले भीरकोटको वडा नं.–६ र विरुवा –५ किचनासमा विपन्न तथा बेसाहाराको घर बनाइदिने भएको छ । कांग्रेस भीरकोटले घरबारविहीन वडा नं. ६ चिउरेनी निवासी प्रेमबहादुर माझीलाई घर बनाइदिने भएको हो ।
माझीका छोरा राजेन्द्र माझीको यही भदौ २१ गते दुर्घटनामा परी भीरकोट ७ हेलुमा निधन भएको थियो । आफ्नो घर नहुँदा उहाँहरु छिमेकीको घरमा बसेर मृत्यु संस्कार गरिरहनुभएको छ ।
कांग्रेस सभापति यामप्रसाद अधिकारीले प्रेम माझीको परिवारका लागि दुई कोठे टिनको छाना भएको घर बनाइने र सम्पूर्ण खर्च कांग्रेस भीरकोट नगर कार्यसमितिले व्यहोर्ने बताउनुभयो ।
सकेसम्म चाँडो घर निर्माण गरिने जानकारी दिनुहुँदै उहाँले घर निर्माणका लागि कांग्रेसका नेता, कार्यकर्ता र शुभेच्छुकहरूलाई आर्थिक सहयोग गर्न अनुरोध गरेको बताउनुभयो ।
राजेन्द्रको १३ दिनको पूण्य तिथि पश्चात् घर निर्माण सुरू गरिने कांग्रेस भीरकोटका सचिव तारा अर्यालले बताउनुभयो ।
भीरकोट कांग्रेसले प्रेमबहादुर माझीलाई खाद्यान्न सामग्री र लत्ताकपडा समेत उपलब्ध गराएको हो ।
यस्तै, बिरुवा–५ पुष्पगाउँ किचनासकी ६० वर्षीय एकल महिला नाँनीमाया विकका लागि पनि काँग्रेस बिरुवाले घर बनाउने भएको हो ।
भूकम्पको धक्काबाट भत्केको घर गत असार २२ गते ढलेपछि नानीमाया छिमेकीकोे शरण लिएर बस्नु परेको थियो ।