• ८ असार २०८२, आइतबार

टाइम्स बास्केटबल लिग च्याम्पियन

blog

काठमाडौँ, असार ८ गते । हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) को उपाधि टाइम्स बास्केटबल क्लबले जितेको  छ ।

लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा भएको फाइनलमा गोल्डेनगेटललाई ८०–७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो ।

सुरुबाटै टाईम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०–८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेनगेटले पुनरागमन गरेको थियो । 

दोस्रो क्वाटर गोल्डेनगेटले १९–१४ ले आफ्नो पक्षमा पारेपनि हाफ टाईमसम्म टाईम्सले नै ३४–२७ को अग्रता बनाएको थियो । तेस्रो क्क्वाटर २६–२१ ले आफ्नो पक्षमा पारेपछि टाइम्सले अन्तिम क्वाटरअघि ६०–४८ को अग्रता बनाएको थियो ।

चौथो तथा अन्तिम क्वाटर निकै रोमाञ्चक बन्यो । चौथो क्वाटरमा गोल्डेनगेटले फेरि पुनरागमन गर्दै २४–२० ले आफ्नो पक्षमा पारेको थियो । तर टाईम्सलाई रोक्न सकेन र टाइम्स ८ अङ्क अन्तरले च्याम्पियन बन्यो ।

यसअघि लिग चरणमा पहिलो खेलमै टाइम्सले गोल्डेनगेटलाई पराजित गरेको थियो भने त्यसपछि दोस्रो चरणमा गोल्डेनगेटले टाइम्सलाई हराएर बदला लिएको थियो ।

च्याम्पियन टाइम्सले ट्रफीसहित दुई लाख रुपियाँ हात पार्‍यो । यस्तै उपविजेता गोल्डेनगेटले एक लाख तथा तेस्रो भएको हाउण्ड्सले ५० हजार रुपियाँ पायो । 

प्रतियोगिताको मोस्ट भ्यालुएबल प्लेअर हाउण्ड्सका विजय बुर्जा घोषित हुनुभयो । लिग चरणमा शीर्ष दुई स्थानमा रहेर गोल्डेनगेट र टाईम्सले फाइनलमा स्थान बनाएका थिए ।

तेस्रो स्थानको लागि भएको खेलमा हाउण्ड्स एकेडेमीले कीर्तिपुरलाई ८०–७५ ले हरायो । हाउण्ड्सले पहिलो क्वाटरमा २२–१३ को अग्रता बनाएको थियो । कीर्तिपुरले दोस्रो क्वाटर २२–१९ र तेस्रो क्वाटर २२–२० ले आफ्नो पक्षमा पारेको थियो ।

तर अन्तिम क्वाटरअघि हाउण्ड्स ६१–५७ ले अघि थियो । चौथो क्वाटर १९–१८ ले आफ्नो पक्षमा पार्दै हाउण्ड्सले खेल जितेको हो ।

नेपाल बास्केटबल सङ्घले आयोजना गरेको प्रतियोगितामा कूल ६ टोलीले भाग लिएका थिए । लिग डबल राउण्ड रोविनको आधारमा खेलाईएको थियो ।