• ८ असार २०८२, आइतबार

चार सय बढी घर बाढीपहिरोको जोखिममा

blog

फाइल तस्बिर ।

अर्जुन कार्की

काठेखोला (बागलुङ), असार ८ गते । बागलुङको काठेखोला गाउँपालिकामा चार सय बढी घर बाढीपहिरोको जोखिममा रहेको पाइएको छ । काठेखोला गाउँपालिका विपद् व्यवस्थापन समितिका अनुसार गाउँपालिकाका आठ वटा वडाका चार सय ७९ वटा घर बाढीपहिरोको जोखिममा रहेका छन् । 

विपत् व्यवस्थापन समिति काठेखोलाका सदस्य सचिव मिन बहादुर थापाले खोला किनारमा रहेका ३० वटा घर बाढीको जोखिममा रहेको बताउनुभयो । उहाँले कमजोर भिरालो जमिनमा रहेका २ सय ७७ घर र मोटरबाटोको छेउमा रहेका १ सय ७२ वटा घर पहिरोको उच्च जोखिममा रहेको बताउनुभयो । 

सदस्य सचिव थापाले सबैभन्दा बढी वडा नंं ७ रेशका एक सय २६ घर र सबैभन्दा कम वडा नं. ६ तल्लो बिहुँको ९ घर बाढि पहिरोको जोखिममा रहेको बताउनुभयो । उहाँले रेशका ६० घर पहिरो जाने भिरालो जमिनमा रहेको र ६६ वटा घर बस्तीको छेउछाउ मोटरबाटो निर्माणको कारण पहिरो जानसक्ने जोखिममा रहेको बताउनुभयो । यस्तै बिउको ९ घर पहिरो जाने भिरालो जमिनमा रहेको जानकारी दिनुभयो । 

विपत् व्यवस्थापन समितिका अनुसार वडा नं. २ भीमापोखरामा ५२ घर पहिरो जाने भिरालो जमिनमा रहेको र पाँच घर मोटरबाटो निर्माणपछि जोखिममा रहेको, वडा नं. ३ धम्जाका एक घर खोलाको जोखिममा, ४६ घर पहिरो जानसक्ने भिरालो जमिनमा र २१ घर सडक निर्माणपछि जोखिममा रहेको, वडा नं. ४ तंग्रामका १३ घर पहिरो जानसक्ने भिरालो जमिनमा रहेको र २२ घर सडक निर्माणपछि पहिरोको जोखिममा रहेका छन् । 

यस्तै वडा नं. ५ बिहुँका १४ घर पहिरो जानसक्ने भिरालो जमिनमा रहेको, ५८ घर सडक निर्माणपछि पहिरोको जोखिममा रहेको र वडा नं. ८ लेखानीका ५८ घर पहिरो जानसक्ने भिरालो जमिनमा रहेको सदस्य सचिव थापाले बताउनुभयो ।

विपत् व्यवस्थापन समिति काठेखोलाले जोखिममा रहेका घरहरुको डाटा संकलन गरेर पूर्वसचेतना अपनाइसकेको छ । थापाले दुर्घटना हुन नदिनको लागि पूर्व तयारी गरी सजगता अपनाइएको बताउनुभयो । 

‘ठूलो विपत् हुन नदिन जोखिममा रहेका घरहरुको सर्वेक्षण गरिएको छ,’ उहाँले भन्नुभयो,‘विपत् व्यवस्थापन समितिको बैठक बसेर क्षति हुन नदिन पूर्वतयारी गरिएको छ । आमनागरिकलाई सचेत गराउँदै बस्तीलाई जोखिम हुन नदिन सरोकारवालाहरुलाई सचेत गराएको छ । बाढी पहिरो गएमा तत्काल उद्धारको लागि सरकारी संयन्त्रलाई तयारी अवस्थामा राखिएको छ ।’