रामकृष्ण बोहरा
बागलुङ, असार ८ गते । बागलुङको ढोरपाटनमा गत शुक्रवार (जेठ २) भएको जिप दुर्घटनामा परी ज्यान गुमाउनेको सङ्ख्या पाँच पुगेको छ । दुर्घटनामा परी घाइते हुनुभएकी ढोरपाटन नगरपालिका वडा नं. २ की २३ वर्षीय इन्द्रा कुँवरको उपचारको क्रममा मृत्यु भएपछि ज्यान गुमाउने सङ्ख्या पाँच पुगेको हो ।
मणिपाल शिक्षण अस्पताल पोखरामा उपचाररत गम्भीर घाइते कुँवरको आइतबार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक वसन्त पाण्डेले जानकारी दिनुभयो । यसअघि ढोरपाटन नगरपालिका २ का नरबहादुर कार्की, भीमकुमारी बुढा, टीकाकुमारी कुँवर र मनकुमारी थापाको मृत्यु भएको थियो । कार्की र बुढाको बुर्तिवाङ अस्पताल, थापाको मणिपाल अस्पताल पोखरामा र कुँवरको उपचारका लागि मणिपाल अस्पताल पोखरा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।
बुर्तिवाङ बजारबाट ढोरपाटन सालझण्डी सडक खण्ड हुँदै सही खोलातर्फ जाँदै गरेको लु. प्र. ०१–००१–१७७५ नम्बरको जिप ढोरपाटन नगरपालिका वडा नं. ५ बतासे डाँडामा दुर्घटना भएको थियो । जिप सडकदेखि ६० मिटर तल खसेको थियो । जिपमा १६ जना सवार थिए । क्षमताभन्दा बढी यात्रु बोकेको जिप ब्रेक फेला हुँदा भयानक दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको पाण्डेले बताउनुभयो ।