• ८ असार २०८२, आइतबार

जैमिनी नगरपालिकाले कृषि एम्बुलेन्स सञ्चालन गर्ने

blog

बागलुङको जैमिनी नगरपालिको आर्थिक बर्ष २०८२-०८३ को नीति कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख नर बहादुर पुन । तस्बिर : नवराज नेपाली

नवराज नेपाली

बागलुङ (गलकोट), असार ८ गते । बागलुङको जैमिनी नगरपालिकाले किसानको उत्पादन बजारमा जोड्न कृषि एम्बुलेन्स सञ्चालन गर्ने नीति ल्याएको छ । यो नीति अनुसार सञ्चालन हुने एम्बुलेन्सले किसानको उत्पादन बजार पठाउने र घरघरमा पुगेर किसानलाई कृषि प्राविधिक सेवा दिने काममा उपयोग गरिनेछ । पशुलाई खोप लगाउने, औषधि तथा अन्य उपचार गराउनेदेखि उत्पादन बजार पठाउनसमेत एम्बुलेन्स प्रयोग गरिनेछ ।

पालिकाभित्रका सबै किसानलाई परिचयपत्र दिने भएको छ । सबै किसानलाई सूचीकरण प्रणालीमा आबद्ध बनाई नगरपालिकाले नै परिचयपत्र दिने भएको हो । जैमिनीलाई सबै किसान सूचीकृत पालिका बनाइने निति आर्थिक बर्ष २०८२र०८३ को बजेटमा  ल्याइएको  नगरप्रमुख नरबहादुर पुनले बताउनुभयो।

उहाँले भन्नुभयो, "अघिल्लो वर्ष ‘सेरा जाऔँ, केरा खाऔँ’ भन्ने नारा बनाएपछि सयौँ हेक्टर जमिनमा हजारौँ केरा रोपिएको छ । यस वर्ष उक्त कार्यक्रमलाई निरन्तरता दिँदै सुन्तला र केराका पकेटहरू विस्तार गर्दै लैजाने नीतिमा उल्लेख छ । कृषि र पशुपालनमा धेरै किसानसंग  जोडिएकाले प्राविधिक सीप, अनुदान र बजारीकरणका लागि किसान सूचीकरण आवश्यक भएको बताउनुभयो ।"

कृषि विकासमा मात्रै जैमिनीले ३१ बुँदे नीति तथा कार्यक्रम ल्याएको हो । जसअनुसार अण्डा र मासुमा आत्मनिर्भर बनाउने र आयात प्रतिस्थापन गर्ने लक्ष्य लिइएको छ । उत्पादन र बिक्रीमा आधारित अनुदान दिई काम गर्ने किसान प्रोत्साहन कार्यक्रम ल्याइएको छ ।

व्यावसायिक रूपमा पालिने गोरु, राँगो र बंगुरलाई प्रोत्साहन गरिनेछ । पाडापाडी उत्पादन बढाएर चीनसम्म मासु निर्यातका लागि तयारी बनाउने योजना जैमिनीको रहेको छ । नेपाल सरकारले पनि चीनमा मासु निर्यात गर्ने लक्ष्य बनाएको छ । उक्त लक्ष्यअनुसार बागलुङमा पछिल्लो एक दशकदेखि पाडापाडी, खसीबोका लगायतमा रोग देखिएको छैन ।

रैथाने बालीको उत्पादन बढाउने नीति पनि नगरको छ । सिरिम्ले मकै, कोदो, फापर, सिस्नो, टिमुर, भाङ, आलु र निउरो लगायतका उत्पादनको लेबलिङ र प्याकेजिङ गरिने नीतिमा उल्लेख छ ।